आगामी दिनमा चिन्ता नहुने गरि भन्सार विधेयक संसोधन गर्छौं : अर्थ समिति

Ujyalosandeshonline 11543+ समाचार ( )
१२ माघ २०८१, शनिबार

भैरहवा । प्रतिनिधि सभाको अर्थ समितिका सभापति सन्तोष चालिसेले आगामी दिनमा व्यवसायीहरुले चिन्ता नलिने गरि भन्सार विधेयक संशोधनको तयारी गरिएको बताएका छन् । 

शनिबार चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशद्वारा भैरहवामा आयोजित खुल्ला सीमा र यसले पारेको असर विषयक अन्र्तरक्रिया कार्यक्रममा बोल्दै चालिसेले भन्सार विधयेकलाई सबैको स्विकार्य हुने गरि बनाउनका लागि अहिले अर्थ समिति देशभरिका भन्सार भएका नाकाहरुको अवलोकनमा रहेको बताए । 

“व्यवसायीहरुलाई कसरी सुरक्षित बनाउन सकिन्छ, कसरी चोरी निकासी रोक्न सकिन्छ, कसरी मुलुकलाई निर्यातयोग्य बनाउन सकिन्छ त्यसलाई सहज हुने गरि कानून बनाउनेछौं ।” उनले भने “यस भन्सार विधेयकलाई हामीले आगामी दिनमा फेरी पनि चिन्ता नहुने गरि हामीले संशोधन गर्छौ ।”

कार्यक्रममा बोल्ने व्यवसायीहरुले अहिले भन्सार नितिका कारण व्यवसायीहरु पलायन हुने अवश्था आएको गुनासो राखे । वैध रुपमा कारोबार गर्ने भन्दा अवैध रुपमा कारोबार गर्नेहरु फस्टाउदै गएको र राज्यका नियमक निकायहरुले यसमा सघाएको उनिहरुले आरोप लगाएका थिए । उद्योग स्थापना गरि कच्चा पदार्थ आयात गरि वस्तुको उत्पादन गर्ने र तयारी माल बस्तुको आयातमा भिन्नता नभएको कारण अन्र्तराष्ट्रिय वजारमा प्रतिष्प्रर्धा गर्न नसक्ने वातावरण रहेको बताउदै उनिहरुले भन्सार महशुलमा पुनरावलोकन गर्न अर्थसमितिलाई आग्रह गरे । अवैध चोरी निकासीका कारण राजस्व मात्र प्रभावित नभई समग्र अर्थतन्त्रमै नकारात्मक असर परेको उनिहरुको जिकिर रहेको थियो ।

अहिले छलफलको क्रममा रहेको भन्सार विधेयकमा बैधानिक कारोबार गर्नेलाई बढी जरिवाना र अवैध कारोबार गर्नेलाई कम जरिवानाको व्यवस्था रहेको कारण यसलाई पनि पुनरावलोकन गर्नुपर्ने व्यवसायीहरुले आवाज उठाएका थिए । 

चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसादले समाधानको उपाय सहितको लागि खुल्ला सीमा बारेको बहस थालिएको बताए । उनले खुल्ला सीमा कारण सीमावर्ती बजार मात्र नभई लुम्बिनी प्रदेशका पहाडी जिल्ला एवम अन्य मूख्य शहरहरुमा पनि अवैध तरिकाले भित्रिएका वस्तुहरुको विगविगी रहेको कारण अब यसका स्थायी समाधान खोजिनु पर्ने जिकिर गरे । 

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले प्रहरीले अवैध वस्तुहरु बरामद गर्दा यसको ओसार प्रसारमा संलग्न तथा मूख्य कारोबारीहरु प्रहरीको दायरामा आउन नसकेको गुनासो गरे । अबको भन्सार निति यस्ता मूख्य कारोबारीहरुलाई कसरी निरुत्साहित गर्न सकिन्छ भन्ने ध्यानमा राखेर ल्याउन उनले सुझाव दिए ।

उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका कार्यकारी सचिव आनन्द खनालले कोभिड पछि नेपालको अर्थतन्त्र अझै कमजोर भएको बताए । उनले कोभिड पछि “हिडन कस्टम रुट” बनेको बताउदै यस बारे सबैलाई थाहा भए पनि यसको समाधान तर्फ नलागेको गुनासो गरे । उनले विश्वमै कमसे कम भन्सार नाकाहरु हुने अभ्यास रहे पनि अहिले नेपालमा आवश्यकता भन्दा बढी भन्सार कार्यालयहरु रहेको कारण यसको व्यवस्थापन बारे बोल्ने गरि कानून संशोधनको आवश्यकता औल्याए ।

लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक दान बहादुर कार्कीले व्यवसायीहरुले भने जस्तै चोरी तस्करीको अवश्था नरहे पनि तस्करीलाई निर्मूल पार्न भने खुल्ला सीमा चुनौतीको रुपमा रहेको बताए । उनले खुल्ला सीमाका कारण मानव वेचविखन, अपराध गरेर दुवै देशमा लुक्ने लगायतको समस्या रहेको कारण यसको न्यूनिकरणको लागि आवश्यक कदम चाल्न आवश्यक रहेको बताए ।

यस बाहेक खुल्ला सीमाका कारण मानव वेचविखन, सीमापार अपराध लगायतको चुनौती पनि बढ्दै गएको कारण यसलाई नियन्त्रण गर्न सक्ने गरि पनि कानून ल्याउन व्यवसायीहरुले आग्रह गरेका थिए । 

कार्यक्रममा बोल्दै अर्थ समितिका सदस्य सूर्य बहादुर थापा क्षेत्रीले कानून सम्मत सबै नागरिकले कर्तव्य पालन गर्ने गरि ब्यवस्थापन गर्ने गरि जानुपर्ने धारणा राखे । आजको स्थितिलाई बदल्ने र भन्सार प्रशासनलाई प्रक्रियायत झण्झटबाट मुक्त गरि सरलीकृत गरि आम रुपमा नागरिकलाई भन्सार विन्दुबाट र विल विजकबाट कारोबार गर्ने र औपचरिक माध्यमबाट कारोबार गर्ने गरि उभ्याउने गरि कानून बनाउने बताए । “हामीले निर्णय गर्ने वित्तिकै संघिय सरकारले कानून बनाउने सिलसिलामा कुनै पनि देशसंग भएका सन्धि सम्झौता र पराम्परागत सम्बन्धहरुलाई यत्तिकै एकपक्षिय रुपमा निर्णय गरेर आफखुशी गर्न सक्दैन ।” थापाले भने “यस्तो अवश्थामा हामीले पनि आफ्नो हित हेरेर कानून बनाउनुपर्छ । हामीले अरुको हित हुने गरि कानून बनाउन सक्दैनौ आफ्नो हित हेरेर कानून बनाउने हो ।”

उनले कानून संशोधन अगाडी फिल्डमै छलफल आवश्यक देखेकोले अर्थसमिति नेपाल भरि छलफलको लागि निस्किएको बताए । 

कार्यक्रममा अर्थसमितिका सदस्यहरु अन्जनी श्रेष्ठ, गंगा कार्की, रणकुमारी बलमपाकी मगर, छिरिङ डोल्मा लामा, नारायण प्रसाद आचार्य, पदम गिरी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार