भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा '१२औं स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता' यही मंसिर १२ गतेदेखि पुस १ गतेसम्म सञ्चालन हुने भएको छ । पर्वत ज्वेलर्सका संचालक विमल सेन्चुरीको मुख्य प्रायोजनमा भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा हुने यस प्रतियोगितामा रुपन्देहीका ३० वटा विद्यालयले प्रतिस्पर्धा गर्नेछन्। आयोजकका अनुसार यस वर्ष गत वर्षभन्दा ६ वटा विद्यालयको सहभागिता बढेको छ भने कक्षा १० सम्मका खेलाडीहरूले खेलमा भाग लिन पाउनेछन् ।
प्रतियोगिताको विजेता टोलीले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै, म्यान अफ द सिरिजलाई १० हजार, उत्कृष्ट बलर र ब्याटरलाई ५–५ हजार तथा म्यान अफ द म्याचलाई ५ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । करिब ५ लाख रुपैयाँ खर्च अनुमान गरिएको यो प्रतियोगिताले विद्यालय स्तरबाटै लुकेका प्रतिभाहरूलाई उजागर गर्न र नयाँ खेलाडी उत्पादनमा महत्त्वपूर्ण टेवा पुर्याउने विश्वास लिइएको छ।