पाल्पा, रामपुर । पाल्पाको रामपुर नगरपालिकाले वडा नं. ५ स्थित पवित्र धार्मिक स्थल रामघाट धाममा ‘जेष्ठ नागरिक स्कुल’ सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमका बीच नगर प्रमुख रमण बहादुर थापाले उक्त स्कुलको औपचारिक शुभारम्भ गर्नुभएको हो । स्कुलको उद्घाटन गर्दै नगर प्रमुख थापाले जेष्ठ नागरिकहरूलाई सम्मानसहितको सक्रिय जीवन बिताउने वातावरण सिर्जना गर्न स्कुल सञ्चालन गरिएको बताउनुभयो। उहाँले जेष्ठ नागरिकहरूको ज्ञान, अनुभव र परम्परागत सीप नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले यो प्रयास थालिएको जानकारी दिनुभयो ।
स्कुलमा जेष्ठ नागरिकहरूले धार्मिक प्रवचन सुन्नुका साथै फुर्सदको समयमा बत्ती काट्ने, दुना-टपरी बनाउने जस्ता सीपमूलक काम गर्नेछन् । उत्पादित सामग्रीको बजारीकरणको जिम्मा नगरपालिकाले लिने प्रमुख थापाले बताउनुभयो । करिब एक करोडको लागतमा निर्माण भएको यस स्कुलमा आवास, दिवा खाजा (चमेनागृह), स्वास्थ्य जाँच, सन्ध्या आरती र भजनकीर्तनको व्यवस्था गरिएको स्कुल व्यवस्थापन समितिका अध्यक्ष बुद्धि प्रकाश रेग्मीले जानकारी दिनुभयो । साथै, स्कुल परिसरमा परम्परागत ढिँकी र जाँतो समेत राखिएको छ ।
कार्यक्रममा विशेष आकर्षणका रूपमा रहनुभएका योगी डा. विकाशानन्दले सकारात्मक सोच र जीवनको अर्थबारे प्रवचन दिनुभएको थियो । कार्यक्रममा बिपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना, विभिन्न दलका प्रतिनिधि तथा समाजसेवीहरूले शुभकामना मन्तव्य राखेका थिए । नगर उपप्रमुख बालकुमारी थापाको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितको अध्यक्षतामा सम्पन्न भएको थियो । शुभारम्भको अवसरमा जेष्ठ नागरिकहरूलाई आउन-जानका लागि निःशुल्क बस सेवाको समेत व्यवस्था गरिएको थियो ।