भुइँमान्छेलाई नीति निर्माण तहमा पुर्‍याउँदै रास्वपा : २६ वर्षीया स्टाफ नर्स खिमा विक समानुपातिक सूचीमा

Ujyalosandeshonline 12326+ समाचार ( )
२ चैत्र २०८२, सोमबार

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा समानुपातिक सांसदहरूको अन्तिम सूची बुझाएको छ। आइतबार वनस्थलीस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकको निर्णय अनुसार आयोगमा पेस गरिएको उक्त सूचीमा महिलाको उल्लेखनीय वर्चस्व देखिएको छ । समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै पार्टीले तयार पारेको कुल ५७ जनाको सूचीमा ४८ जना महिला र ९ जना मात्र पुरुष अटाएका छन् ।

विभिन्न क्लस्टरअनुसार टुङ्गो लगाइएको नामावलीमा खसआर्यतर्फबाट सर्वाधिक १७ जना सिफारिस भएका छन्, जसमा १६ महिला र एक पुरुष छन् । यसैगरी, आदिवासी जनजातितर्फ १३ महिलासहित १६ जना, मधेशी क्लस्टरबाट ६ महिलासहित ९ जना र दलिततर्फ ७ महिलासहित ८ जनाको नाम समावेश गरिएको छ । थारु क्लस्टरबाट दुई महिला र दुई पुरुष गरी ४ जना तथा मुस्लिम क्लस्टरबाट ३ जनाको नाम आयोगमा बुझाइएको छ ।

रास्वपाले बुझाएको यस समावेशी सूचीमा दलित क्लस्टरबाट पर्न सफल दाङकी २६ वर्षीया खिमा विकको नामले यतिबेला विशेष चर्चा र चौतर्फी प्रशंसा बटुलिरहेको छ । दाङको दङ्गीशरण गाउँपालिका–२, कलमखोला जस्तो ग्रामीण परिवेशबाट उदाएकी विक पेसाले एक स्टाफ नर्स हुन् । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आबद्ध युवा अनुहारलाई प्रतिनिधि सभा सदस्यको समानुपातिक सूचीमा छनोट गरेर रास्वपाले सीमान्तकृत समुदाय र भुइँमान्छेको प्रतिनिधित्वलाई सुनिश्चित गरेको छ । एउटी सामान्य परिवारकी स्वास्थ्यकर्मीलाई नीति निर्माणको तहमा पुर्‍याउँने पार्टीको यो कदम आफैँमा अत्यन्तै सकारात्मक र प्रेरणादायी मानिएको छ ।

खिमा विक जस्ता ऊर्जाशील र सक्षम युवालाई सांसदको सूचीमा अटाएसँगै रास्वपाले सीमान्तकृत समुदाय र युवा वर्गलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट सन्देश दिएको छ । यस निर्णयले दाङलगायत देशभरका युवायुवतीमा राजनीतिप्रति नयाँ आशा जगाउनुका साथै राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको जनविश्वासलाई थप मजबुत बनाएको छ । इमानदार र क्षमतावान् युवाहरूले अब राजनीतिमा सहजै अवसर पाउन सक्छन् र देश निर्माणमा योगदान दिन सक्छन् भन्ने बलियो दृष्टान्त खिमा विकको छनोटले प्रमाणित गरिदिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार