सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते

रासस 654+ समाचार ( )
२८ भाद्र २०८३, आइतबार

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान वडा नं ६ को कोटगाउँबाट गाउँपालिकाको केन्द्र सानीभेरी-९ सिम्ली हुँदै खलङ्गातर्फ आउँदै गरेको लु१च ६०२९ नम्बरको जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेको बताउँदै आफ्नो नेतृत्वको टोली पनि घटनास्थलतर्फ गइरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार मृतकको सनाखत हुन सकेको छैन । 

दुर्घटनामा चार जना गम्भीर घाइते भएका प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी गराउनुभयो । “जिपमा ११ जना सवार थिए । तीमध्ये पाँच जना घाइतेको अवस्था भने मध्यम छ । जिप चालक र एक जना महिलाको घटनास्थलमा मृत्यु भएको छ भने सनाखत हुन बाँकी छ”, उहाँले भन्नुभयो । पालिकाले खर्च बेहोर्ने गर्ने गरी घाइतेको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर माग गरिएको सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार