गुल्मी। स्वास्थ्यको क्षेत्रमा सञ्चालित विभिन्न कार्यक्रमहरुको मूल्याङ्कनका आधारमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका प्रथम भएको छ । आर्थिक वर्ष २०८०\०८१ को स्वास्थ्य कार्यक्रमहरुको वार्षिक प्रगतिको मुख्य सूचकहरुको मूल्याङ्कनको आधारमा यस जिल्लाका १२ वटा स्थानीय तहहरुमध्ये रुरुक्षेत्र गाउँपालिकाले ७१.८२ प्रतिशत अंङ्क प्राप्त गरी प्रथम भएको हो ।
यस्तै सत्यवती गाउँपालिका ७१.१९ प्रतिशत अंङ्कसहित दोश्रो र छत्रकोट गाउँपालिकाले ७०.४९ प्रतिशत अंक लिएर तृतिय भएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय गुल्मीको आयोजना तथा रेसुंगा नगरपालिकाको आतिथ्यतामा आ.व.२०८०÷०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रमको अन्तिम दिन उत्कृष्ट भएका पालिकाहरुलाई कार्यक्रमका प्रमुख अतिथि समन्वय प्रमुख द्रोण बहादुर खत्री, उपप्रमुख तेजिन्द्र सलामी समन्वय सदस्य सावित्रा पाण्डे भण्डारी, स्वास्थ्य कार्यालय प्रमुख पुष्पा थापाले प्रमाणपत्रद्वारा सम्मान गर्नुभएको थियो ।
समीक्षा कार्यक्रममा जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुले वर्षभरमा आफ्नो पालिकाबाट भएका गतिविधि प्रस्तुत गरेका थिए । स्वास्थ्य कार्यालयले रेसुंगा नगरपालिका र त्यहाँ रहेको स्वास्थ्य शाखालाई प्रशंसा पत्रले सम्मान गरेको थियो ।
सहभागीहरुले जिल्लामा वर्थिङ सेन्टर संख्यात्मक रुपमा धेरै रहे पनि गुणात्मक परिणाम आउन नसकेको बताएका थिए । सहभागीको तर्फबाट बोल्दै गुल्मीदरबार गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले वर्थिङ सेन्टरहरुमा गुणात्मक रुपमा परिणाम आउने गरी काम गर्न आवश्यक देखिएको बताउनुभयो ।
‘हाम्रै वर्थिङ सेन्टरहरूमा गुणात्मक रुपमा प्रसुति हुन सकेको छैन् । कतै वर्थिङ सेन्टरमा आम नागरिकहरुको विश्वास भएनकि ।’ उहाँले भन्नुभयो,‘प्रत्येक पालिकामा एउटा राम्रो वर्थिङ सेन्टर बनाउन सक्नुपर्छ । अन्य वर्थिङ सेन्टरलाई इकाईका रुपमा बनाउनेतर्फ अग्रसर हुनुपर्छ ।’
किशोरीहरूमा भएको रक्तअल्पता यस जिल्लामा लागि चुनौतीको विषय भएको समेत उल्लेख गर्नुभयो । यसको समाधानका लागि यथाशीघ्र योजना अगाडि सारेर कार्यान्वयनमा जान आवश्यक रहेको बताउनुभयो । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका फोकल पर्सन कुमार थापाले दुई दिने समीक्षा कार्यक्रममा उठेका विषयहरुलाई प्रदेशमा आवश्यक सहजीकरणका लागि छलफल गर्ने बताउनुभएको छ ।
समन्वय प्रमुख खत्रीले समीक्षा बैठकमा गहन ढंगले यहाँ सञ्चालन गरिएका स्वास्थ्यका क्रियाकलाप हरुको समीक्षा गरिएको भन्दै स्वास्थ्यका सूचकहरूमा राम्रो हुँदै गएको बताउनुभयो । गुल्मीको स्वास्थ्यको अवस्था राम्रो बनाउन सबै पालिका लाग्नुपर्ने बताउनुभयो । त्यस अवसरमा स्वास्थ्य कार्यालयले उत्कृष्ट कर्मचारीको रुपमा जनस्वास्थ्य अधिकृत पशुपति आचार्यलाई सम्मान समेत गरेको थियो ।
स्वास्थ्यको क्षेत्रमा जिल्लाको वास्तविक अवस्थाको पहिचान गर्न, नमुना कार्यको अनुसरण गर्न, स्वास्थ्यमा रहेका समस्याको प हिचान गर्न, समस्याको समाधानका लागि सामुहिक पहल गर्न र आगामी दिनका कार्यक्रममा सुदृढीकरण गरेर अगाडि बढ्न सहयोग पुग्ने कार्यालय प्रमुख थापाले बताउनुभयो । यसअघिका दुई आर्थिक वर्षका स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा गोष्ठी सत्यवती गाउँपालिकाको भार्से र छत्रकोट गाउँपालिकाको चोयगामा सम्पन्न भएको थियो ।