मर्चवारमा बहुउद्देशीय सडक निर्माण : ग्रामीण विकासमा नयाँ आयाम

Ujyalosandeshonline 7240+ समाचार ( )
११ आषाढ २०८१, मङ्गलबार

मर्चवार । रुपन्देहीको मर्चवार क्षेत्र अन्तर्गत कोटहीमाई गाउँपालिकाले बहुउद्देशीय सडक निर्माण गरेको छ । प्रदेश र स्थानीय सरकारको सहकार्यमा २५ लाखको लागतमा निर्माणसम्पन्न नालासहितको ४ किलोमिटर सडक, गाउँपालिकाको दीर्घकालीन विकास रणनीतिमा महत्वपूर्ण रहेको स्थानीय बताउँछन् ।

नयाँ सडकको निर्माणबाट स्थानीय बासिन्दा निकै उत्साहित छन् । ‘यो सडक निर्माण भएपछि हामीलाई अस्पताल, विद्यालय र बजारसम्म पुग्न निकै नै सजिलो भएको छ । कोटहीमाई–४ का रामवचन यादवले भने, ‘अब हिउँद र वर्खामा पनि यात्रा गर्न समस्या हुँदैन । हाम्रा खेत डुबानमा पर्ने छैनन् ।’


स्थानीय जगदीश वर्माले भने, ‘बहुउपयोगी सडक निर्माणले यातायात, सिंचाइ र जल निकासको उचित प्रबन्ध गरेको छ । यातायात र सिंचाई मात्र होइन, कोटहीमाई गाउँपालिका वडा नम्बर ३, ४, ५, र ७ का करिब १ हजार हेक्टर खेती डुबान हुने समस्यालाई कटफोरवा नालाको सफाइले समाधान गरेको छ ।’ वर्माले भने, ‘रोपाइँ, सिंचाई र बाली ढुवानी लगायत कार्यका लागि सो सडक उपयोगी छ । बर्खायाममा डुबानको समस्या हटेको छ ।’’

गाउँपालिकाका इञ्जिनियर नवराज भण्डारीका अनुसार सडकलाई बहुपयोगी बनाउन पुरानो जीर्ण नालाको संरक्षणसँगै कृषि सडक निकालिएको छ । उनले आवश्यक भागमा कलवर्ट निर्माण गरी पानीलाई निकास दिइएको बताए ।  ‘लुम्बिनी प्रदेश सरकारको समपूरक योजनाअन्तर्गत निर्माणसम्पन्न कृषि सडकसँगैको नालामा सिंचाईका लागि आवश्यक पानीको भण्डारण गर्न मिल्ने बनाइएको छ । उनले भने, ‘गाउँपालिकाले स्थानीयको विपद मानिने कटफोरवा नालाको दुवै पेटीमा सडक विस्तार गरी अझ प्रभावकारी बनाउन र सडक छेउछाउमा हरियाली विस्तार, सोलार बत्ती जडान तथा नियमित मर्मतसम्भारको योजना बनाएर सडकको दीर्घकालीन उपयोगिता सुनिश्चित गरेको छ ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौडले कोटहीमाई गाउँपालिकाका अधिकांश नागरिक कृषिमै निर्भर रहेकोले कृषि क्षेत्रमा प्राथमिकता दिइएको बताए । उनले भने, ‘किसानको खेतसम्म कृषि यन्त्र र किसानले उत्पादन गरेको सामान बजारसम्म पुग्न सके मात्र कृषि क्षेत्रको विकास हुन्छ । सोही उद्देश्यले यो सडक र कुलोको निर्माण गरिएको छ ।’गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले बहुउद्देशीय सडकको निर्माणले गाउँका बासिन्दाहरूको जीवनस्तरमा व्यापक सुधार ल्याउने अपेक्षा गरिएको बताए । ‘हामीले सो सडक निर्माणसँगै कृषि, व्यापार, स्वास्थ्य र शिक्षा क्षेत्रमा समेत सुधार ल्याउने लक्ष्य लिएका छौं । उनले भने, ‘गाउँको विकासका लागि सिंचाई र यातायातको सुविधा महत्वपूर्ण छ र यो सडकले ग्रामीण ईलाकाका नागरिकहरूको दैनिक जीवनमा सकारात्मक प्रभाव पार्नेछ भन्नेमा विश्वस्त छौं ।’

सडकको मुख्य विशेषता यसको बहुउद्देशीय उपयोग हो । यो सडकले पालिकाको दोस्रो मुख्य बजार परसहवाससँग वडा नम्बर ४ का गाउँहरूलाई सीधा जोडेको छ, यसले परसहवा बजारसम्मको पहुँचलाई सहज बनाएको छ । ’ त्यहाँ एकतर्फ नाला, अर्कोतर्फ सडक निकालिएको तथा आगामी दिनमा सडकलाई ग्रभेल र तरपोलको व्यवस्थापन गरी नालाको अर्कोतर्फ पनि सडकको निर्माण गरिने अध्यक्ष त्रिपाठीले जानकारी दिए । यहाँ घरहरू पनि निर्माण हुने र यस क्षेत्रको जग्गाको मूल्यांकन पनि बढ्ने उनले बताए ।

‘यो बहुउद्देशीय सडक निर्माण परियोजना कोटहीमाइ गाउँपालिकाको विकास र समृद्धिको मार्गमा एक कोसेढुंगा हो । यसले स्थानीय जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ । निर्माण कार्य गर्दा हरियाली संरक्षण तथा माटोको कटान नियन्त्रणमा विशेष ध्यान दिइएको छ, जसले ग्रामीण क्षेत्रको पर्यावरणीय सन्तुलनलाई कायम राख्न मद्दत पुर्याएको देखिन्छ, ’अध्यक्ष त्रिपाठीले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार