सर्लाही । मकवानपुरको भीमफेदी क्षेत्रमा भएको सवारी दुर्घटनामा स्थानीय नागरिकको निधन भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज (शुक्रबार) शोक बिदा दिएको छ । काठमाडौँबाट चक्रघट्टा आउँदै गरेको विद्युतीय सवारीसाधन बिहीबार बिहान दुर्घटनाग्रस्त हुँदा चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका बासिन्दासहित यात्रुहरूको निधन भएको थियो ।
उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवद्वारा जारी विज्ञप्तिमा आज गाउँपालिकाको कार्यालय, सबै वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय र सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयहरू बन्द रहने उल्लेख छ । यद्यपि, स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने आकस्मिक सेवा भने नियमित रूपमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
छठ पर्व मनाउन घर फर्किंदै गरेका आफन्तको दुर्घटनामा ज्यान गएपछि सुन्दरपुर गाउँ शोकमग्न बनेको छ । यस दुःखद् घडीमा गाउँपालिकाले मृतकका परिवारलाई अन्तिम संस्कार तथा काजक्रियामा सहयोग पु¥याउने उद्देश्यले जनही रु ५० हजार आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । साथै, गाउँपालिकाले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।