काठमाडौँ । सरकारले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा परी घाइते भएकाहरूको उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कात्तिक २६ गते भएको उक्त दुर्घटनामा १४ जनाको ज्यान गएको थियो भने ६ जना घाइते भएका थिए ।
घाइतेमध्ये ३ जना डिस्चार्ज भइसकेका छन् भने बाँकी ३ जनाको चितवन र ललितपुरका अस्पतालमा उपचार भइरहेको छ । घाइतेको उपचार खर्च र मृतकका परिवारलाई क्षतिपूर्ति तथा बीमा रकम यथाशीघ्र उपलब्ध गराउन सम्बन्धित पक्षसँग समन्वय गरिएको छ । साथै, घटनाको वास्तविकता पत्ता लगाउन र आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन सुझाव दिन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ दिनको समयसीमासहित ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।