चितवन । जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको दुई महिनामा उपचारका लागि आएका बिरामीमध्ये सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो ।जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार ८८६ जनाको नमूना परीक्षणका क्रममा उनीहरूमा डेङ्गुको सङ्क्रमण देखिएको हो ।
सङ्क्रमितमध्ये चितवनका ७८ जना रहेका छन् भने बाँकी अन्य जिल्लाका छन् । जिल्लामा सबैभन्दा बढी सङ्क्रमण रत्ननगर नगरपालिकामा ३० जना डेङ्गुका सङ्क्रमित रहेका जनाउँदै उहाँले सबैभन्दा कम कालिका नगरपालिकामा दुई जना भेटिएका बताउनुभयो ।
यो रोग बढी सहरी क्षेत्रमा देखिएको बताउँदै केसीले सहरी क्षेत्रमा बढी मात्रामा पानी जम्ने ठाउँ हुने भएकाले सङ्क्रमित सङ्ख्या धेरै हुने गरेको उल्लेख गर्नुभयो । डेङ्गुबाट बच्नका लागि झूल टाँगेर सुत्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने, पानी जमेका भाँडाहरुको पानी फाल्ने, बिहानबेलुका बारीमा काम गर्दा लामबाउले लुगा लगाउने गर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।
एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
किट नियन्त्रक केसीका अनुसार जिल्लाका अस्पतालमा आएका बिरामीमध्ये १९१ जनामा स्क्रफ्ट टाइफसको सङ्क्रमण देखिएको छ । एक हजार १४ जनाको नमूना परीक्षणका क्रममा १९१ जनामा यो रोग देखिएको हो । तीमध्ये ११८ जना चितवनका हुन् । यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्दछ । यस रोगबाट बच्नका लागि झाडीमा जाँदा लामो लुगा लगाउने साँझ बिहान चौरमा बस्दा सुरक्षित भएर बस्ने लगायतका कामहरु गर्नुपर्ने उहाँले बताउनुभयो ।