रूपन्देही । जनमत पार्टीका राष्ट्रिय सचिव तथा रूपन्देही क्षेत्र नं. ४ का प्रभावशाली युवा नेता भोपेन्द्र प्रसाद यादवले देशमा राजनीतिक नेतृत्वभन्दा पनि कर्मचारीतन्त्र (ब्युरोक्रेट) हावी भएको भन्दै संरचनागत शुद्धीकरणको आवश्यकता औंल्याएका छन् । वि.सं. २०६९ सालदेखि डा. सीके राउतको नेतृत्वमा स्वतन्त्र मधेस गठबन्धनबाट औपचारिक राजनीतिक यात्रा सुरु गरेका यादवले मधेसी जनताको हक–अधिकार र मर्चवारको विकासका लागि आफू चुनावी मैदानमा होमिएको बताएका छन् ।
आफ्नो उम्मेदवारी र भावी योजनाबारे स्पष्ट पार्दै नेता यादवले संघीयता लागू भए पनि जनताले त्यसको वास्तविक महसुस गर्न नपाएको गुनासो गरे । उनले पञ्चायती व्यवस्थादेखिकै ‘विषको बोतलमा अमृतको लेबल’ लगाउने प्रवृत्ति अझै कायमै रहेको र पुरानै मानसिकता भएका व्यक्तिहरू सत्तामा दोहोरिरहँदा देशको मुहार फेर्न नसकिएको जिकिर गरे । विशेष गरी आरक्षण र लोकसेवा आयोगको संरचनामा ठूलो विभेद रहेको उनको ठम्याइ छ ।
मधेसका दलित वा जनजातिको कोटामा टाठाबाठाहरूले अवसर लिइरहेको र एउटै जिल्लाबाट धेरै पास हुने तर अन्यत्रका सक्षम उम्मेदवार बाहिरिने अवस्थालाई उनले संरचनागत बदमासीको संज्ञा दिए । आदिवासी, जनजाति, मधेसी र पिछडा वर्गको सहभागिता रोक्ने डिजाइनलाई तोड्न पनि आफ्नो उम्मेदवारी अपरिहार्य रहेको उनको भनाइ छ ।
रूपन्देहीको मर्चवार क्षेत्रलाई विकासको मूल प्रवाहमा ल्याउन यादवले स्पष्ट रोडम्याप अघि सारेका छन् । उनले मर्चवारमा ‘जनता राज’ कायम गर्न र सामन्तवादी तथा जमिनदारी शासनको अन्त्य गर्न आफू कटिबद्ध रहेको बताए । यादवले मर्चवारवासी किसानका लागि कृषि मिटर जडान गरी सम्पूर्ण बिजुली निःशुल्क गर्ने, सिँचाइको समस्या सधैंका लागि समाधान गर्ने र समयमै बीउ तथा मलखादको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि डिग्री कलेज र मेडिकल कलेजको स्थापना, कन्याहरूका लागि छुट्टै गुरुकुल विद्यालयको निर्माण तथा प्रत्येक वडामा स्वास्थ्य चौकी र गाउँपालिका स्तरीय अस्पतालको व्यवस्थापन गर्ने योजना उनले अघि सारेका छन् ।
मर्चवारलाई आधुनिक, डिजिटल र वैज्ञानिक नमुना क्षेत्र बनाउन ‘रिङ रोड’ निर्माण गर्ने र पर्यटकीय तथा धार्मिक स्थलहरूलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने उनको योजना छ । यसैगरी दक्षिणी भेगको सीमा नाकामा पुल निर्माण गरी भन्सार व्यवस्थापन सहज बनाउने र बाटोघाटो तथा विद्युत्को उचित व्यवस्थापन गर्ने विषयलाई उनले प्राथमिकतामा राखेका छन् ।
रोजगारीको सन्दर्भमा नेता यादवले स्थानीय उद्योगहरूमा स्थानीय युवालाई नै प्राथमिकता दिनुपर्ने माग अघि सारेका छन् । जगदम्बा धागा कारखाना जस्ता ठूला उद्योगहरू क्षेत्रभित्र भए पनि स्थानीय युवाहरू बेरोजगार हुनु र बाहिरबाट कामदार ल्याइनु विडम्बनापूर्ण रहेको भन्दै उनले यस्तो अवस्थाको अन्त्य गर्ने बताए । युवाहरूलाई सीपमूलक तालिम दिएर रोजगार बनाउने र मर्चवारका समस्याहरू संसदमा बुलन्द रूपमा उठाई राष्ट्रिय बजेटबाटै समाधान खोज्ने उनको दृढता छ ।
शासकीय स्वरूप परिवर्तनको पक्षमा वकालत गर्दै यादवले मुलुकमा स्थिरता र सुशासनका लागि ‘कार्यकारी प्रधानमन्त्री’ को प्रत्यक्ष निर्वाचन हुनुपर्नेमा जोड दिए । अख्तियार र लोकसेवा जस्ता संवैधानिक अंगका प्रमुखहरू पनि जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्ने उनको मान्यता छ । उनले ‘सिंहदरबार गाउँ–गाउँमा’ भन्ने नारा केवल नारामा सीमित भएको र गाउँमा सिंहहरू मात्र पुगेर जनतालाई दुःख दिएको भन्दै आक्रोश पोखे ।
अब पुरानो ढर्रा र चुनावमा प्रलोभन बाँड्ने नेताहरूलाई विदा गरेर भिजन भएका युवालाई अवसर दिन उनले मर्चवारवासीलाई आग्रह गरेका छन् । भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदै भ्रष्टाचारीलाई कानुनी कठघरामा उभ्याउने र किसानको उब्जनीको उचित मूल्य निर्धारण गराउने वाचासहित उनले आफ्नो चुनाव चिन्ह ‘माइक’ मा मतदान गरी मर्चवारको दिशा र दशा परिवर्तन गर्न सम्पूर्ण मतदातालाई अपिल गरेका छन् ।