पोखरा । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीले गण्डकी प्रदेशको सुरक्षा व्यवस्थापनको निरीक्षण तथा अनुगमन गर्नुभएको छ । एआईजी केसीले बुधबार गण्डकी प्रदेश प्रहरी कार्यालय पुगेर निर्वाचन विशेष सुरक्षा योजना, प्रहरी जनशक्ति परिचालन तथा समग्र सुरक्षा तयारीको अवस्थाबारे जानकारी लिनुभएको हो ।
अनुगमनका क्रममा उहाँले पोखरा उपत्यकामा कार्यरत सिनियर प्रहरी अधिकृतहरूलाई निर्वाचनमा प्रहरीले निर्वाह गर्नुपर्ने भूमिका, निष्पक्षता, सक्रियता र सांगठनिक जिम्मेवारीबारे आवश्यक निर्देशन समेत दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र कुमार उपाध्यायले निर्वाचन सुरक्षा योजना र विद्यमान चुनौती वा समस्याका विषयमा प्रस्तुतीकरण राख्नुभएको थियो । उक्त अवसरमा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्री तथा नेपाल प्रहरी प्रदेश कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार खनाल लगायतको उपस्थिति रहेको थियो ।