भैरहवा । सिद्धार्थनगर–१ स्थित डण्डा खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धार्थनगर–९ का १४ वर्षीय प्रज्वल अर्याल र नवलपरासीको बिनय त्रीबेणी गाउँपालिका–६ घर भई हाल सिद्धार्थनगर–७ बस्दै आएका १५ वर्षीय दिनेश न्यौपाने रहेका छन् ।
रुपन्देही प्रहरीका अनुसार, पक्लिहवा कृषि क्याम्पस पछाडिको डण्डा खोलामा ५ जना बालक पौडी खेल्न गएका थिए । तीमध्ये ३ जना सकुशल बाहिर निस्किए पनि अर्याल र न्यौपाने डुबेका थिए । घटनाको खबर पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी कार्य सुरु गरेको थियो । टोलीले दुवै बालकलाई मृत अवस्थामा फेला पारेको थियो । प्रहरीले शव पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा पठाएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।