काठमाडौं । सप्तरीको राजविराज विमानस्थलबाट रात्रिकालिन उडान सुरु भएको छ । रात्रिकालिन उडान सेवाका लागि आवश्यक पर्ने विभिन्न उपकरण जडान गरिए सँगै बुद्ध एयरले यो विमानस्थलमा व्यावसायिक रुपमा रात्रिकालिनउडान सुरु गरेको हो ।
राजविराज विमानस्थलमा रात्रिकालिन उडानको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले राजविराजमा रात्रिकालिन सेवा सुरु भए सँगै यसले पर्यटन र समग्र अर्थतन्त्रको विकासमा टेवापुग्ने विश्वास व्यक्त गरे ।
उनले भने,‘अब राजविराज छायामा पर्ने छैन । विमानस्थलाई नियमित सञ्चालनका लागि सबै प्रयत्न गरिने छ । यहाँको प्राकृतिक सम्पदा र संस्कृतिक सम्पदाको अवलोकन गरेर मात्रै यात्रु फर्किने छन ।’
मन्त्री पाण्डेले विमानस्थलको रात्रिकालिन सेवाले अर्थतन्त्र लगायत विविध क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने बताए । उनले विविधिता पूर्ण प्रकृति र संस्कृतिले भरिपूर्ण नेपालको पर्यटनलाई प्रवद्र्धनका निम्ति यो विमानस्थल सहयोगी बन्ने धारणा राखे । उनले राजविराजबाट सिधा पोखरा लगायत गन्तव्यमा उडान गर्नेगरी आगामी दिनमा यसलाई विकास गरिनु पर्नेमा जोड दिए । यस अघि मन्त्री पाण्डेले एयर फिल्ड लाइटिङ सिस्टमको उद्घाटन गरेका थिए ।
यो सँगै रात्रि कालिन उडान हुने विमानस्थलको संख्या १० पुगेको छ । भद्रपुर, विराटनगर, राजविराज, सिमरा, जनकपुर, काठमाडौँ, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल रात्रिकालिन उडान भईरहेको छ । राजविराज विमानस्थलमा विसं २०७६ माघ १८ देखि बुद्ध एयरले बुद्धले ७२ सिट क्षमताको एटीआर विमान मार्फत काठमाडौँ–राजविराज–काठमाडौँ दैनिक रुपमा नियमित उडान गर्दै आएको थियो ।
राजविराज विमानस्थल विसं २०१६ सालमा तत्कालीन मन्त्री गणेशमान सिंहले उद्घाटन गर्नुभएको थियो । राजविराज विमानस्थलमा एक हजार पाँच सय मिटर लामो र ३० मिटर चौडा पक्की धावन मार्ग रहेको छ । लामो समय बन्द रहेको राजविराजविमान स्थलबाट विसं २०७५ असार १० देखि श्री एयरलायन्सले उडान सुरु गरेको गियो । उसले उडान सुरु गरेको एक वर्ष राजविराज उडानबन्द गरेको थियो ।