सडक सुरक्षामा ध्यान दिन प्रहरीको आग्रह

Ujyalosandeshonline 12484+ समाचार ( )
२३ अशोज २०८३, शुक्रबार

काठमाडौँ । नेपाल प्रहरीले सडक सुरक्षामा विशेष ध्यान दिन सबैलाई आग्रह गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेले आज एक विज्ञप्ती जारी गरी पोखरामा स्कुल बस दुर्घटनाबाट चार विद्यार्थीको मृत्यु र १४ घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै सडक सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्नुभएको हो ।

प्रहरी प्रवक्ता काफ्लेले आज बिहान करिब ६ः३३ बजे कालिका इङ्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको स्कुल बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको र दुर्घटनामा चार जना विद्यार्थीको मृत्यु हुनुका साथै १४ जना घाइते भएको बताउनुभयो ।प्रहरीले मृतक विद्यार्थीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरणका लागि नियमित सवारी जाँच, कानुनबमोजिम कारबाही, जनचेतनामूलक कार्यक्रम, आधुनिक प्रविधिको प्रयोग तथा जोखिमयुक्त सडकखण्डको निगरानी गर्दै आएको जनाएको छ ।प्रहरीले विद्यालय बस सञ्चालन गर्दा बालबालिकाको सुरक्षालाई विशेष प्राथमिकता दिन आग्रह गरेको छ । विशेषगरी दसैँ, तिहार, छठलगायत चाडपर्वका समयमा यात्रु तथा सवारी चाप बढ्ने र दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने भएकाले चालक, यातायात व्यवसायी, यात्रु तथा आम नागरिकलाई जिम्मेवार बन्न अनुरोध गरेको छ ।

त्यसैगरी सडक तथा मौसमको अवस्थाबारे पूर्वजानकारी लिएर मात्र यात्रा गर्न, विशेषगरी पहाडी क्षेत्रका साँघुरा सडक, घुम्ती, उकालो–ओरालो तथा भिरपाखामा पूर्ण सावधानी अपनाउन, सवारीको यान्त्रिक अवस्था नियमित जाँच गर्न र क्षमताभन्दा बढी यात्रु तथा सामान नराख्न प्रहरीले आग्रह गरेको छ ।

विद्यालय तथा बालबालिका ओसारपसार गर्दा निर्धारित सिट सङ्ख्याअनुसार मात्र विद्यार्थी राख्न, पुराना तथा सुरक्षा मापदण्डविपरीतका सवारीसाधन प्रयोग नगर्न र सवारीको अवस्था तथा चालकको योग्यतामा विशेष ध्यान दिन पनि प्रहरीको अनुरोध छ । सवारी दुर्घटना रोकथाम र नियन्त्रण सबैको साझा जिम्मेवारी भएकाले सवारी नियमको पूर्ण पालना गर्न तथा बालबालिकासहित सबै यात्रुको सुरक्षा सुनिश्चित गर्न नेपाल प्रहरीले सम्पूर्ण यातायात व्यवसायी, सवारी चालक र सडक प्रयोगकर्तासँग सहयोगको अपिल गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार