रुस–युक्रेन द्वन्द्वमा फसेका नेपालीलाई स्वदेश फर्काउन सरकार प्रयासरत्

राधेश्याम विश्वकर्मा 54+ समाचार ( )
१९ फाल्गुन २०८०, शनिबार

भैरहवा । परराष्ट्र मन्त्री नारायण प्रकाश (एनपी)  साउदले रुसको सेनामा भर्ती भएका नेपालीहरुको करार समझौता रद्द गरि उनिहरुलाई नेपाल पठाउने सैद्धान्तिक रुपमा सहमति भएको बताएका छन् । यो प्रक्रियालाई सरकारले आगामी दिनमा अगाडी बढाउने उनले बताए ।  

शनिबार भैरहवामा सम्पन्न सिद्धार्थ उद्योग बाणिज्य संघको ६५ औं बार्षिक साधारण सभामा बोल्दै मन्त्री साउदले युक्रेनमा युद्ध बन्दीको रुपमा रहेका नेपालीहरुलाई रिहाईका लागि निरन्तर युक्रेन सरकारसंग सम्पर्कमा रहेको जानकारी दिए । उनले भने  “अन्तराष्ट्रिय रेडक्रस परिचालन गरेका छौं र संयुक्त राष्ट्रसँग पनि मेरो लगातार कुरा भईरहेको छ ।” 

उनले अहिले रुसबाट फिर्ता ल्याउनका लागि २ सय ४४ वटा उजुरी आँफुकहा परेको बताउदै त्यहा रहेकाहरुलाई फिर्ता ल्याउनका लागि आफु लगातार लागेको जिकिर गरे । यसका साथै त्यहा मारिएका नेपालीहरुको आश्रित परिवारलाई क्षतिपूर्तिको रकम दिलाउने प्रयासमा रहेको उनले बताए । 

फरक प्रसङ्गमा बोल्दै परराष्ट्र मन्त्री एनपी साउदले रेमिटेन्सको क्षेत्रमा देश कोभिड अघिकै अवश्थामा पुगेपनि आर्थिक प्रगति भने नदेखिएको बताए । उनले अर्थ व्यवस्थामा विश्वास जगाउन सरकार र निजि क्षेत्र दुबै लाग्नुपर्ने जिकिर गरे । उनले अहिले बैंकमा पैसा भएर पनि लगानीको वातावरण बन्न नसकेको बताउदै नितिगत परिवर्तन गरि लगानीको वातावरण बनाउन सरकारको तैयारी रहेको बताए ।  

स्पष्ट उद्योग व्यवसाय नीति नहुदाँ र भएका नीति नियमहरु पनि  कार्यान्वयन नहुदा समस्या बढदो रहेको कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीहरु गुनासो गरे । व्यवसायीहरुले अझै पनि उद्योग, वाणिज्य क्षेत्रमा उद्योगी व्यवसायीका हितमा राज्यले सम्बोधन गर्नु पर्ने कतिपय समस्याहरु यथावत रहेको बताए । 

मुलुकको अर्थतन्त्र संकट उन्मुखनै रहेको र सरकारी राजस्व असुली गतवर्ष भन्दा पनि कमजोर रहेको व्यवसायीहरुको तर्क छ । विकासका कामहरु हुन नसक्दा पैसा सरकारी धुकुटीमा थन्केर बसेको र पैसा बजारमा आउन नसक्दा अर्थतन्त्र चलायमान हुन नसकेको उद्योगीहरुले गुनासो गरे । हाल उद्योग व्यवसाय औसत ३० प्रतिशतमा मात्र चलेको सिद्धार्थ उद्योग बाणिज्य संघको अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए ।  “माओवादीद्वारा सिर्जित आन्तरिक द्वन्द्वकालमा पनि यति अनिश्चितता थिएन, त्यति अनिश्चयको शिकार भएको छ, नेपाली समाज,” श्रेष्ठले भने “आज उद्योग व्यापार सबैभन्दा मारमा परेको छ, यसलाई माथि उठाउनु हामि सबैको कर्तव्य हो ।”

आर्थिक क्षेत्र चलायमान हुने वातावरण राज्यले ल्याउनु र बैंकहरु वर्तमान समयमा लचिलो हुन जरुरी रहेको उनले तर्क गरे । उनले भने “हामीहरुले बैंकको कर्जा नतिर्ने भनेका छैनौ, हामी जसरी पनि तिर्छौ तर वातावरण बनाउनु पर्यो । ”

उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले सबैको चासोको रुपमा रहेको विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो संचालन, लुम्बिनीको पर्यटकिय विकास एवं यस क्षेत्रको समग्र आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकोले दैनिक नियमित उडानका लागि तत्काल पहल गरिदिन आग्रह गरे । 

बौद्ध मुलुकहरु थाईल्याण्ड, श्रीलंका, भियतनाम, कोरीया, जापान, चिन लगायतका देशबाट बाट कम्तिमा साताको एक दिन भए पनि भैरहवामा उडान सुरुवात गर्नका लागि कुटनितिक पहल गरिदिन व्यवसायीहरुले कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका परराष्ट्र मन्त्री एनपी साउदलाई आग्रह गरे ।

संघको बार्षिक साधारण सभामा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डे, सिद्धार्थनगर नगर पालिकाका प्रमुख ईस्तियाक अहमद खाँन लगायतले बोलेका थिए । 


प्रतिक्रिया

सम्बन्धित समाचार