भैरहवा । रुपन्देहीको भैरहवामा शुक्रबारदेखि लुम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रदेश स्तरीय १६ वर्ष मुनिका खेलाडीहरु छनौट गर्ने उद्देश्य सहित प्रतियोगिताको आयोजना हुदैछ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा हुने प्रतियोगिताबारे आयोजकले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गराएका छन् ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानामा प्रतियोगिता हुने जनाएका छन् । प्रदेश क्रिकेट संघका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीले जेठ ९ देखि १६ गतेसम्म प्रतियोगिता संचालन हुने जनाए । भैरहवाका व्यवसायी किसन विकले आफ्नी स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा प्रतियोगितालाई मुख्य प्रायोजन गरेका छन् । त्यसैले प्रतियोगिताको नाम ‘लीला सेन्चुरी मेमोरियल लुम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिता’ राखिएको छ ।
नेपाल क्रिकेट संघको कार्यक्रम अनुसार आयोजना गरिएको प्रतियोगितामा लुम्बिनी प्रदेशका सात जिल्लाका टिम सहभागी हुनेछन् । पराजुलीका अनुसार रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका टिम सहभागी छन् । प्रतियोगिताले प्रदेशस्तरीय बलियो टिम छनोटमा सहयोग पुग्ने जनाइएको छ ।
प्रदेश क्रिकेट संघका कार्यबाहक अध्यक्ष विनय राजभण्डारीले राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशस्तरबाट उत्कृष्ट खेलाडी छनोट गरी एउटा टिम बनाइने बताए । उनले तल्लो तहका यस्ता प्रतियोगिताले भोलिका दिनमा राष्ट्रिय टिममा राम्रो खेलाडीहरु पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले संघले प्रतियोगिता सफल पार्न सबै किसिमको तयारी गरेको जनाए । उनका अनुसार छनोट खेल भएकाले प्रतियोगिताका विजेता टिमलाई ट्रफी र मेडल मात्रै पुरस्कार राखिएको छ । तर, प्रत्यके खेलमा म्यान अफ द म्याचलाई भने एक हजार रुपैयाँ प्रदान गरिने उनले बताए । ३५ ओभरमा खेलाइने उक्त प्रतियोगिता सम्पन्न गर्न ७ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएका छन् ।