भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरबाट प्रहरीले ४३५ एम्पुल नियन्त्रित लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–१३ निवासी २२ वर्षीय प्रवेश घर्ती मगर र १७ वर्षीय विस्मत घर्ती मगर रहेका छन् ।
वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले नियमित सवारी चेकजाँचका क्रममा रा ७ प ७००७ नम्बरको स्कुटर रोकेर जाँच गर्दा उनीहरूको साथबाट डाइजेपाम, प्रोमेथाजिन र बुप्रेनोर्फिन १४५र १४५ एम्पुल गरी कुल ४३५ एम्पुल इन्जेक्सन बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट तीन थान सिरिन्ज, दुई थान मोबाइल र स्कुटरसमेत नियन्त्रणमा लिएको छ । बरामद लागुऔषध कहाँबाट ल्याइएको र कसलाई पुर्याउन लागिएको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सीमावर्ती क्षेत्र र मुख्य सडकमार्गमा लागुऔषध नियन्त्रणका लागि निगरानी बढाइएको रुपन्देही प्रहरीको भनाइ छ ।