भैरहवा । प्रवर्धन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औँ स्थापना दिवसका अवसरमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ । सिद्धार्थनगर नगरपालिका–३ स्थित लुम्बिनी नेत्रालयको प्राविधिक सहयोगमा संस्थाको प्राङ्गणमा आयोजित उक्त शिविरमा शेयर सदस्य तथा सर्वसाधारण गरी एक सय २५ जनाभन्दा बढीले निःशुल्क आँखा परीक्षण तथा परामर्श सेवा लिएको संस्थाका अध्यक्ष नारायण बहादुर कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एवं लुम्बिनी नेत्रालयका प्रमुख डा. हिरा बहादुर शाहले आँखाको नियमित परीक्षण र समयमै उपचार गर्न आग्रह गर्दै यस्ता शिविरले सर्वसाधारणलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन मद्दत गर्ने बताउनुभयो । अध्यक्ष कार्कीको अध्यक्षता एवं संस्थापक अध्यक्ष दीपक क्षेत्री न्यौपानेको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भेषराज बस्यालले गर्नुभएको थियो ।