भैरहवा । देउसीभैलो कार्यक्रमका नाममा सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको अभियोगमा रुपन्देही प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका–४ बस्ने २२ वर्षीया पुजा ठकुरी, दाङको गढवा गाउँपालिका–७ बस्ने २३ वर्षीया सपना चौधरी र गुल्मीको सत्यवती गाउँपालिका–६ बस्ने २४ वर्षीया बिपना मगर रहेका छन्।
नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताको प्रतिकूल हुने गरी अश्लील नृत्य प्रदर्शन गरिरहेको अवस्थामा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आज सिद्धार्थनगर नगरपालिका–७ कान्छीबजारबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका तीनै जनामाथि सार्वजनिक हित र नैतिकताविरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो।