काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मकवानपुरको भीमफेदीमा आज बिहान भएको माइक्रोबस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका प्रवक्ता जगदिश खरेलद्वारा जारी विज्ञप्तिमा काठमाडौँमा व्यवसाय तथा रोजगारीमा संलग्न भई छठ पर्व मनाउन एउटै गाडी रिजर्भ गरी घर फर्किने क्रममा भएको दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलका एउटै टोलका पाँच परिवारसम्मका सदस्य गुमाउनुपरेको घटनाले सिङ्गो समुदायमा अपूरणीय क्षति पु¥याएको उल्लेख छ ।
विज्ञप्तिमा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । रास्वपाले घाइतेहरूको प्रभावकारी तथा निःशुल्क उपचारको व्यवस्था मिलाउन, शव व्यवस्थापनमा सहजीकरण गर्न र पीडित परिवारलाई तत्काल राहत तथा मानवीय सहयोग उपलब्ध गराउन सरकार तथा सम्बन्धित पक्षसँग आग्रह गरेको छ । साथै, सडक दुर्घटना राज्यको यातायात सुरक्षा प्रणाली र सार्वजनिक जवाफदेहितासँग जोडिएको गम्भीर विषय भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता दुर्घटनाको जोखिम न्यूनीकरण गर्न प्रभावकारी तथा दीर्घकालीन कदम चाल्नसमेत पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ ।