हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक ईभी गाडी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने छ जना घाइते भएका छन् । काठमाडौँबाट सर्लाहीतर्फ आउँदै गरेको गाडी दुर्घटना हुँदा चालक सर्लाहीको कविलासी गाउँपालिका–८ का ३० वर्षीय रविशङ्करकुमार मण्डलसहित ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
अन्य मृतकहरू सबै सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलका बासिन्दा हुन् । जसमा एकै परिवारका ३५ वर्षीया पुनम यादव र उनका तीन छोरीहरू १० वर्षीया अनुकुमारी यादव, सात वर्षीया दीक्षा यादव र पाँच वर्षीया दीपिका यादव रहेका छन् । यसैगरी, सोही स्थानका ३६ वर्षीय गुड्डु यादव र उनकी ३२ वर्षीया श्रीमती गायत्री देवी, २६ वर्षीय विकेश यादव, २६ वर्षीय रामदुलार यादव, २५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका छ जना पनि सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलकै रहेका छन् । घाइतेहरूमध्ये तीन वर्षीय सुजन यादव र १४ महिने बालक सुदीप यादवलाई हेटौँडा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल पठाइएको छ भने ३१ वर्षीय देवेन्द्र राय (बेचु) लाई भरतपुरस्थित मनकामना अस्पताल रिफर गरिएको छ ।
यस्तै, सामान्य घाइते भएका ३३ वर्षीय मुकेश यादव, २६ वर्षीय देवेन्द्र राय र पाँच वर्षीय सक्षमकुमार यादव हेटौँडा अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् । घटनास्थलमा बागमती प्रदेश प्रहरी गण हेटौँडाका प्रहरी निरीक्षक बालकृष्ण पुडासैनीको कमाण्डमा १३ जना र विपद् व्यवस्थापन गुल्म थानाभ¥याङका चार जनासहितको थप सुरक्षा टोली खटिएर खोजी तथा उद्धार कार्य जारी राखेको प्रहरीले जनाएको छ ।