भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकाको १८ औँ गाउँ सभा अधिवेशन शुक्रबार सम्पन्न भएको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि तयार गरिएका विभिन्न योजनाहरू संशोधन गर्ने उद्देश्यले आयोजित हिउँदे अधिवेशनको बैठकमा गाउँपालिकाको संशोधित बजेट तथा कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।
सभामा गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले चालु आर्थिक वर्षको संशोधित राजस्व तथा अनुदान प्राप्तिको लक्ष्य र पौष १५ गतेसम्मको खर्च विवरण पेस गरेकी थिइन् । उपाध्यक्ष चौधरीले प्रस्तुत गरेको विवरण अनुसार गाउँपालिकाले आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्वको लक्ष्य बढाएको छ भने हालसम्मको पुँजीगत खर्चको अवस्था भने न्यून देखिएको छ ।
उपाध्यक्ष चौधरीले सभामा पेस गरेको विवरण अनुसार पौष १५ गतेसम्म लक्ष्य अनुसारको राजस्व प्राप्त हुन सकेको छैन । सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण अन्तर्गत समानीकरण अनुदानमा ११ करोड ६६ लाख रुपैयाँ अनुमान गरिएकोमा ५ करोड ८३ लाख मात्र प्राप्त भएको छ भने समपूरक अनुदान तर्फ ४० लाख र सशर्त आयोजनातर्फ १६ करोड ५ लाख अनुमान गरिएकोमा १० करोड २२ लाख २८ हजार रुपैयाँ मात्र प्राप्त भएको छ ।
यसैगरी, प्रदेश सरकार अन्तर्गतको वित्तीय समानीकरणमा ८० लाख ७३ हजार अनुमान गरिएकोमा ४० लाख ३६ हजार ५ सय, सशर्त अनुदानमा १ करोड ५५ लाख अनुमान गरिएकोमा ५१ लाख १५ हजार र समपूरक अनुदानमा ७५ लाख अनुमान गरिएकोमा २४ लाख ७५ हजार रुपैयाँ मात्र प्राप्त भएको जानकारी दिइयो । गाउँपालिकाले आन्तरिक स्रोततर्फ ३ करोड ८७ लाख अनुमान गरेकोमा पौष १५ सम्म १ करोड ३७ लाख २० हजार रुपैयाँ सङ्कलन गरेको छ ।
बजेट कार्यान्वयनको पाटो हेर्दा गाउँपालिकाको खर्च सन्तोषजनक देखिएको छैन । चालु आर्थिक वर्षमा चालु खर्च शीर्षकमा विनियोजित ३३ करोड ८ लाख ३४ हजारमध्ये ३०.६८ प्रतिशत अर्थात् १० करोड १५ लाख १ हजार रुपैयाँ खर्च भएको छ । विकास निर्माणसँग सम्बन्धित पुँजीगत खर्च तर्फ १७ करोड १२ लाख ८० हजार विनियोजन भएकोमा हालसम्म जम्मा २ करोड ३८ लाख ६५ हजार रुपैयाँ अर्थात् १३.९३ प्रतिशत मात्र खर्च भएको छ ।
समग्रमा गाउँपालिकाको कुल खर्च २४.९६ प्रतिशत रहेको छ । उपाध्यक्ष चौधरीले आगामी समयका लागि आन्तरिक स्रोतको अनुमानमा ३० लाख रुपैयाँ वृद्धि गर्दै कुल बजेट ५० करोड ५१ लाख १४ हजार २ सय १२ रुपैयाँ कायम हुने गरी संशोधित अनुमान प्रस्तुत गरेकी थिइन् । साथै, शिव शक्ति आमा समूह र कटैया पूर्वाधार निर्माण लगायतका योजनाहरू पनि संशोधनका लागि सभामा पेस गरिएको थियो ।
गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले सभालाई सम्बोधन गर्दै गाउँपालिकाको समग्र विकास गतिविधिबारे प्रकाश पारेका थिए । उनले उपभोक्ता समितिहरूसँगको सम्झौता र खर्चको अवस्था पूर्ण रूपमा सन्तोषजनक नरहे पनि स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारका नवीन पहलहरू भइरहेको बताए ।
अध्यक्ष यादवका अनुसार गाउँपालिकामा हालसम्म ४८ वटा योजनामा उपभोक्ता समितिसँग सम्झौता भई काम सुरु भएको छ भने ३८ वटा योजना कार्यान्वयनको चरणमा र एउटा योजना प्रक्रियामा रहेको छ । उनले पूर्वाधार विकासका योजनाहरू कार्यान्वयन भइरहेको स्वीकार गर्दै गाउँपालिकाले स्वास्थ्य, शिक्षा, खेलकुद र कृषिको गुणस्तर सुधारलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाइरहेको जानकारी दिए ।