भैरहवा । आन्तरिक राजस्व कार्यालय भैरहवा अन्तर्गत सञ्चालित करदाता सेवा कार्यालय, परासीले प्रदान गर्दै आएका सेवाहरू कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) नवलपरासी बर्दघाट सुस्ता पश्चिमबाट सुरु भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्ले २०८२ कात्तिक १७ गते करदाता सेवा कार्यालयहरू खारेज गर्ने निर्णय गरेअनुरूप उक्त सेवा कोलेनिकाबाट प्रवाह गर्न लागिएको हो ।
नवलपरासी (बसुप) का प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले सेवाग्राहीलाई कर चुक्ता प्रमाणपत्र प्रदान गरी नयाँ स्थानबाट सेवाको शुभारम्भ गर्नुभयो । कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले सेवा प्रवाहमा कुनै गुनासो आउन नदिने र प्राविधिक समस्या आए अनलाइन प्रणालीबाट तत्काल समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सेवालाई प्रभावकारी बनाउन र आवश्यक समन्वय गर्न दुवै कार्यालयबाट एक–एक जना अधिकृतस्तरका कर्मचारीलाई ‘जिम्मेवार व्यक्ति’ तोकिएको छ । करिब २८ हजार करदाता कार्यक्षेत्र रहेको यस कार्यालयबाट प्रवाह हुने सेवालाई सहज, शीघ्र र चुस्तदुरुस्त बनाउन कोलेनिका प्रतिबद्ध रहेको प्रमुख कोष नियन्त्रक कमल सापकोटाले बताउनुभयो । कार्यक्रममा कार्यालयका प्रमुखहरू तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।