परासी । नवलपरासीमा प्रहरीले भन्सार छली ल्याइएको करिब नौ लाख रुपैयाँ बराबरका अवैध सामान नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँचका क्रममा उक्त परिमाणका सामान बरामद गरेको हो। प्रहरीका अनुसार भन्सार छली चोरी निकासी तथा पैठारी गरी ल्याइएको अन्दाजी ९ लाख २ हजार ८ सय १० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ।
बरामद गरिएका सामग्रीहरूमा साल जातको काठको झ्याल ढोकाको तयारी चौकोष, विभिन्न किसिमका लत्ताकपडा, पटका, जिउँदो बोइलर कुखुरा, रंगोलीका सामान, टिनको भकारी (ड्रम) तथा फुटकर किराना सामान रहेका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मदन थापाद्वारा जारी प्रेसवज्ञप्तिमा अवैधरूपमा भइरहेको चोरी निकासी नियन्त्रणका लागि सुरक्षा जाँचलाई कडाइ गरिएको जनाइएको छ।