भैरहवा । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। साउनदेखि असोज मसान्तसम्म कार्यालयले ३३ अर्ब ३४ करोड २० लाख रुपैयाँ राजस्व संकलन गरेको हो, जुन निर्धारित लक्ष्यभन्दा ४ अर्ब ६ करोड २० लाख रुपैयाँ बढी हो। सरकारले यस अवधिमा २९ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो।
कार्यालयका अनुसार यस अवधिमा लक्ष्यको ११३ दशमलव ८६ प्रतिशत राजस्व उठेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २७ अर्ब ७५ करोड ५३ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको थियो। चालु आवको असोज महिनामा मात्रै सबैभन्दा बढी १३ अर्ब ८८ करोड रुपैयाँ राजस्व उठेको छ। सोही महिनामा यस नाकाबाट ३८ अर्ब २१ करोड ११ लाख रुपैयाँ बराबरका वस्तु आयात तथा ४ अर्ब १५ करोड १५ लाख रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन्।
सवारीसाधन, इन्धन, मोबाइल फोन र फलामजन्य वस्तु राजस्वका प्रमुख स्रोत रहेको र असोजमा शीर्ष १० आयातीत वस्तुबाट मात्रै १० अर्ब ५२ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको सूचना अधिकृत उद्धव ढुङ्गानाले जानकारी दिएका छन्। भन्सार प्रमुख हरिहर पौडेलले गत वर्षको तुलनामा चालु आवको पहिलो त्रैमासमा राजस्व संकलन सन्तोषजनक रूपमा सुधार आएको बताएका छन्।