भैरहवा । विश्व मत्स्य दिवसका अवसरमा प्राकृतिक जलाशयमा माछाको सङ्ख्या वृद्धि तथा जलीय जैविक विविधता संरक्षण गर्ने उद्देश्यले रुपन्देहीका नदी तथा पोखरीमा २५ हजार माछाका भुरा छोडिएको छ। ‘जलवायु परिवर्तनप्रति हाम्रो जिम्मेवारी, मत्स्य सम्पदाको संरक्षणमा गरौँ साझेदारी’ भन्ने नाराका साथ शनिबार तिनाउ खोलामा २२ हजार, सियारी गाउँपालिकास्थित जनता माध्यमिक विद्यालयको पोखरीमा दुई हजार र पब्लिक माध्यमिक विद्यालयको पोखरीमा एक हजार गरी रौँ र नैनी जातका भुरा छोडिएको हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, मत्स्य शुद्ध नश्ल स्रोत कार्यालय र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ रुपन्देहीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
मत्स्य शुद्ध नश्ल स्रोत कार्यालय रुपन्देहीका प्रमुख रमेश जयसवालले बाढीपहिरो, नदीजन्य पदार्थको अत्यधिक दोहन तथा उद्योग र बजारबाट निस्कने रासायनिक फोहोर र ढल सिधै खोलामा मिसाउँदा जलचरको बासस्थान प्रभावित भएको बताउनुभयो। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका मत्स्य विकास अधिकृत शेभाखर पाण्डेका अनुसार विगतमा तिनाउ खोलामा ३६ प्रकारका रैथाने माछा पाइने गरेकामा हाल घटेर २४ प्रजातिमा सीमित भएका छन्। कार्यक्रम कार्यान्वयन एकाइ रुपन्देहीका प्रमुख शालीकराम पौडेलले माछाको सङ्ख्या घट्दा माछा मारेर जीविकोपार्जन गर्ने स्थानीय समुदायको आम्दानी प्रभावित भएकाले नदीको प्राकृतिक बहाव कायम राख्दै जथाभावी उत्खनन रोक्नुपर्नेमा जोड दिनुभयो। विगत ११ वर्षदेखि जिल्लाका प्राकृतिक जलाशयमा माछाका भुरा छोड्ने अभियान सञ्चालन हुँदै आएको छ।