तुलसीपुर । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी निरीक्षक दिपक कुँवरलाई कात्तिक 'महिनाको उत्कृष्ट प्रहरी' (बेस्ट पुलिस अफ द मन्थ) घोषणा गरेको छ। सङ्गठनात्मक नीति तथा निर्देशनबमोजिम सुम्पिएको जिम्मेवारी व्यावसायिक दक्षता, उच्च लगनशीलता, कर्तव्यनिष्ठा र इमान्दारिताका साथ निर्वाह गरेबापत कुँवरलाई उक्त सम्मान प्रदान गरिएको हो।
प्रभावकारी अपराध नियन्त्रण तथा अनुसन्धान कार्यमार्फत समाजमा शान्तिसुरक्षा कायम गरी आमजनसमुदायमा प्रहरी सङ्गठनको श्रीवृद्धिमा पुर्याएको योगदानको कदर गर्दै उहाँलाई उत्कृष्ट प्रहरी छनोट गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीद्वारा हस्ताक्षरित कदरपत्रमार्फत कुँवरलाई उत्कृष्ट प्रदेश प्रहरी छनोट हुनुभएकामा बधाई तथा सम्मान व्यक्त गरिएको छ।