पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पा तथा मातहतका एकाइबाट २०८३ को कात्तिक महिनामा १५ वटा मुद्दा दर्ता भएका छन् ।कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार दर्ता भएका १५ मुद्दामध्ये छ वटा फछ्यौट भएका छन् भने नौ वटा बाँकी छन् । चालु मुद्दाका सात जना पुरुष प्रतिवादी पक्राउ परेका छन् भने फरार प्रतिवादी फैसला कार्यान्वयनतर्फ चार जना पक्राउ पर्दा रु २४ हजार जरिवाना तथा एक वर्ष एक महिना सात दिन कैद असुल भएको छ ।
सो अवधिमा भएका आठवटा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु र १४ जना घाइते भएका तथा ट्राफिक कारबाहीबाट रु तीन लाख ४० हजार पाँच सय राजश्व सङ्कलन भएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो । साथै राजश्व चुहावट नियन्त्रणबाट रु ७९ हजार चार सय ५०, प्राकृतिक सम्पदा दोहन नियन्त्रणबाट रु ४० हजार जरिवाना सङ्कलन र २५ लिटर अवैध मदिरा बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ ।