नवलपरासी । नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै पश्चिम नवलपरासीमा अवैध सामान ओसारपसारको स्वरूप फेरिएको छ । सीमावर्ती क्षेत्रमा सुरक्षा निकायको निगरानी रहे पनि केही समूहले नयाँ शैली अपनाउँदै मोटरसाइकल र ज्यालादारी मजदुरको आवरणमा सामान भित्र्याउने गरेको स्थानीयवासीले बताएका छन् ।
स्थानीयका अनुसार भारतीय सीमावर्ती बजार ठुठीबारी, बरगदवा, लक्ष्मीपुर र बहुवारलगायतका स्थानबाट दैनिक उपभोग्य तथा व्यापारिक सामान मोटरसाइकल र सामान्य किनमेलको बहानामा नेपाल भित्र्याइने गरिएको छ । यसरी भित्र्याइएका सामान परासी बजारसँगै सुनवल, भूमही, बासा र बर्दघाटका विभिन्न स्थानमा सङ्कलन गरी ठूला सवारीसाधनमार्फत काठमाडौँ, नारायणगढ र पोखरासम्म पठाउने गरिएको स्थानीयको भनाइ छ ।
एक स्थानीय व्यापारीका अनुसार सीमावर्ती ठुठीबारी बजारमा मात्र नेपाली उपभोक्ता तथा व्यापारीलाई लक्षित गरी दैनिक ठूलो परिमाणमा कारोबार हुने गरेको छ । यसरी भन्सार छलेर सामान भित्रिँदा राजस्व सङ्कलनमा समेत असर पुर्याएको छ ।सीमावर्ती क्षेत्रको महेशपुर नाकाबाट दिउँसै मोटरसाइकलमा सामान ओसारपसार हुने क्रम बढेपछि सीमा निगरानीलाई अझ प्रभावकारी बनाउनुपर्ने आवाज स्थानीयले उठाएका छन् ।
यसैबीच, रामग्राम नगरपालिका–१६ जमुनिया गाउँनजिक सादा पोसाकमा आएका एक व्यक्तिले टोनवा प्रहरी चौकीको जवान भएको परिचय दिँदै व्यापारीसँग रकम असुल्न खोजेको गुनासो स्थानीयले गरेका छन् । यद्यपि, सम्बन्धित प्रहरी चौकीबाट उक्त परिचय दिएका व्यक्ति चौकीमा कार्यरत नरहेको जानकारी प्राप्त भएको छ । प्रहरीकै नक्कली परिचय दिएर व्यापारीलाई दुःख दिने तथा घुमुवा प्रहरीको नाममा हुने अनधिकृत असुली र सीमा तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन् ।