रौतहट । छिमेकी मुलुक भारतको बैरगनियास्थित जे.एस. बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरूले नेपालको भोटेकोसी क्षेत्रका विपद् पीडितका लागि ४० हजार नेपाली रुपैयाँ राहत रकम प्रदान गरेका छन् । बालबालिकामा मानवीय भावना र सामाजिक उत्तरदायित्व विकास गर्ने उद्देश्यले विद्यार्थीहरूले आफ्नो व्यक्तिगत तथा पारिवारिक खर्चबाट बचत गरी संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
विद्यालयका निर्देशक दीपंकर चौधरीले रकम जम्मा गरिएको बैंक भौचर र आवेदनपत्र जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेललाई हस्तान्तरण गर्नुभयो । भोटेकोसीको विनाशकारी घटनाप्रति दुःख व्यक्त गर्दै निर्देशक चौधरीले विपद्को समयमा देखाइने मानवता नै सबैभन्दा ठूलो सहयोग भएको बताउनुभयो । राहत बुझ्दै प्रमुख जिल्ला अधिकारी पौडेलले सीमा वारपारको मानवीय सद्भाव दर्साउने यस्ता कार्यले पीडितहरूलाई मनोवैज्ञानिक हौसला प्रदान गर्ने भन्दै विद्यार्थी र विद्यालय परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो ।