भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित पिपलबोट चेकप्वाइन्टमा स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक जनालाई सुरक्षाकर्मीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डा रुपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको संयुक्त चेकप्वाइन्ट टोलीले भारतबाट नेपालतर्फ सार्वजनिक ई–रिक्सामा आउँदै गरेका व्यक्तिलाई जाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्यको कुशीनगर जिल्लास्थित कप्तानगञ्ज थाना चिरायुपाली निवासी ४५ वर्षीय सन्तोष सिंह रहेका छन् । झोलामा लुकाइछिपाई ल्याउँदै गरेको भारतीय रुपैयाँ पाँच लाख ५० हजार, भारतीय युनियन बैंकको खाली चेक र मोबाइल फोनसहित उनलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका सिंह तथा बरामद रकम र सामग्रीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही, भैरहवा पठाइएको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डाका प्रमुख प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईले जानकारी दिनुभयो ।