भैरहवा । सिद्धार्थनगर नगरपालिकाले नगरको दीर्घकालीन फोहोरमैला व्यवस्थापनका लागि निजी क्षेत्रसँग पाँच वर्षको सम्झौता गरेको छ ।
वर्षौंदेखि थुप्रिँदै आएको फोहोर र दुर्गन्धको समस्या समाधान गरी सहरलाई स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यले नगरपालिकाले सोमबार रुपन्देहीको मायादेवी गाउँपालिका–७ स्थित वातावरणीय सुन्दर सरसफाइ तथा कृषि प्रवर्द्धन अफ नेपाल प्रालिसँग उक्त सम्झौता गरेको हो । रु तीन करोड ६० लाख दुई हजार ९७१ दशमलव ०७ को आय ठेक्कामा भएको यो सम्झौता २०८३ वैशाख ७ गतेदेखि लागू भई २०८८ वैशाख ६ गतेसम्म कायम रहनेछ ।
सम्झौताअनुसार सम्बन्धित कम्पनीले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी, वर्गीकरण तथा अन्तिम व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्नेछ । नगर प्रमुख इश्तियाक अहमद खानले वर्षौंदेखिको फोहोर व्यवस्थापनको चुनौती अन्त्य गरी सफा र स्वस्थ सिद्धार्थनगर निर्माण गर्ने प्रतिबद्धताअनुसार दीर्घकालीन प्रणाली विकास गरिएको बताउनुभयो ।