मर्चवारमा भ्रष्टाचारको आशंका: ७१ लाखको सरकारी भवन उद्घाटन अघि नै चर्कियो

जैसमोहम्मद खान 73+ समाचार ( )
२२ श्रावण २०८२, बुधवार

मर्चवार । रुपन्देहीको मर्चवारी गाउँपालिका–५ ओडवालियामा रहेको श्री जनता माध्यमिक विद्यालयको नवनिर्मित भवन निर्माण सम्पन्न नहुँदै ठाउँ-ठाउँमा चर्किएको छ। अल हसन कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको शौचालयसहितको चारकोठे भवनका भित्ताहरूमा चिरा परेपछि गुणस्तरमाथि गम्भीर प्रश्न उठेको हो। स्थानीयले यस घटनामा कमसल सामग्रीको प्रयोग र ठूलो कमिसनको खेल भएको आशंका गरेका छन्, जसले गर्दा गाउँपालिका अहिले तीव्र आलोचनाको केन्द्र बनेको छ।

गाउँपालिकाका इन्जिनियर गंगाराम यादवका अनुसार, भवन निर्माणका लागि कुल ७१ लाख ३५ हजार ४३५ रुपैयाँमा सम्झौता भएको थियो, जसमध्ये हालसम्म ४९ लाख रुपैयाँ भुक्तानी भइसकेको छ। यादवले समय अभावका कारण यस्तो हुन गएको स्वीकार गर्दै भने, "बाहिरको पैसा थियो, काम नगराएको भए फ्रिज जान्थ्यो, समय अभावले गर्दा यस्तो भएको हो।" उनले निर्माण कम्पनीलाई चर्किएको भित्ता भत्काएर पुनः बनाउन गाउँपालिकाबाट पत्र काटेर निर्देशन दिइसकिएको जानकारी दिए। यता, विद्यालयका प्रधानाध्यापक कमलेश त्रिपाठीले सुरुमा भवन राम्रै देखिए पनि पछि भित्तामा चिरा परेको पुष्टि गरे। "यसबारे मैले गाउँपालिका र इन्जिनियरलाई जानकारी गराएको छु," उनले भने।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामहरि चौधरीले निर्माण कम्पनीले चर्किएको संरचना पुनर्निर्माण नगरेसम्म विद्यालयका तर्फबाट निर्माण सम्पन्न भएको कुनै पनि कागजपत्र नदिन विद्यालयलाई निर्देशन दिएको बताएका छन्। सोही वडाका अध्यक्ष कृष्ण कुमार सिंहले भने आफूलाई भवन शिलान्यासका बेला मात्र जानकारी दिइएको र यस विषयमा गाउँपालिकाका इन्जिनियरसँग कुरा गरेको बताए।

यो घटना अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ र गाउँपालिकाको कार्यशैलीप्रति चर्को टिकाटिप्पणी भइरहेको छ। स्थानीय बासिन्दाहरूले निर्माण नसकिँदै भवन चर्कनुले यसमा प्रयोग भएको सामग्री कमसल रहेको र ठूलो भ्रष्टाचार भएको हुन सक्ने गम्भीर आशंका व्यक्त गरेका छन्। यस विषयमा प्रतिक्रिया लिन खोज्दा सम्बन्धित निर्माण कम्पनीसँग भने सम्पर्क हुन सकेन।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै