धकधई । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रोहिणी शाखाको कार्यसमिति, सरोकारवाला तथा राजनीतिक दलका प्रतिनिधिबीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । बिहीबार रोहिणी गाउँपालिकाको हलमा सङ्घको रोहिणी शाखाका अध्यक्ष कुर्बान अलीको अध्यक्षता तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सङ्घको रोहिणी शाखाले स्थानीय व्यवसायीको हकहित संरक्षण, व्यावसायिक वातावरण निर्माण, बजार व्यवस्थापन तथा सरसफाइ, कर तथा राजस्वसम्बन्धी सहजीकरण र व्यवसाय प्रवद्र्धनमार्फत समग्र आर्थिक विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । साथै संस्थागत विकास तथा सुशासन, सामाजिक उत्तरदायित्व, सदस्यता विस्तार तथा सहभागिता, सुरक्षा तथा उपभोक्ता हित र बैंक तथा वित्तीय संस्थासँगको समन्वयलाई पनि कार्ययोजनाका रूपमा अघि बढाइने जनाइएको छ ।
सङ्घले नयाँ शाखा स्थापनाको चरणमा हाल कार्यालय तथा आवश्यक सामग्रीको अभाव रहेकाले कामकाजमा कठिनाइ आउन सक्ने उल्लेख गर्दै सरोकारवाला निकाय, स्थानीय तह, व्यवसायी तथा समुदायको साथ, सहयोग र समन्वयका लागि अनुरोध गरेको छ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पारदर्शी र निष्पक्ष कार्यशैलीमार्फत साना तथा ठूला सबै व्यवसायीको अपनत्व र विश्वास जित्ने लक्ष्य लिइएको छ ।
सुरेन्द्र यादवले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा पूर्णिमा रौनियारले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्जय कौशलले विषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि सिद्धार्थ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिलीप कान्दु सहित सल्लाहकार विजय पाण्डेय, महासचिव कृष्णप्रसाद घिमिरे, रोहिणी शाखा सल्लाहकार सब्बीर अली पठान, नेपाली कांग्रेस रोहिणी सभापति अकबाल खाँन, राष्ट्रिय स्वतन्त्र पार्टी रोहिणी सभापति कृष्णचन्द्र मिश्रा, रास्वपा प्रदेश सदस्य सञ्जयकुमार गुप्ता, रामनरेश माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक तारानाथ त्रिपाठी तथा वडा नं. ६ का अध्यक्ष इन्द्रमान चौधरी लगायत विभिन्न वक्ता तथा सरोकारवालाले आआफ्ना धारणा राख्नुभएको थियो ।