भैरहवा । देउसीभैलो कार्यक्रमका नाममा सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको अभियोगमा रुपन्देही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ बस्ने ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ बस्ने २१ वर्षीया प्राप्ती बस्नेत रहेका छन्।
नेपाली मौलिक कला, संस्कृति र सामाजिक शिष्टाचारको प्रतिकूल हुने गरी अश्लील नृत्य प्रदर्शन गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले उनीहरूलाई राति १२:०५ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलवार बजारबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेकामाथि सार्वजनिक हित र नैतिकताविरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो।