हेटौँडा। हेटौँडा–भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा यात्रुवाहक ईभी गाडी दुर्घटना हुँदा १० जनाको घटनास्थलमै मृत्यु भएको छ । काठमाडौँबाट सर्लाहीका यात्रु लिएर हेटौँडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको उक्त गाडी चिसापानीगढीस्थित सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका रहेका छन् ।
मृतकहरूको पहिचान खुल्न बाँकी रहे पनि अधिकांश सर्लाही जिल्लाका रहेका छन् । दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन् र उनीहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब आठ किलोमिटर उत्तरमा पर्ने उक्त घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्याम खत्रीसहितको सुरक्षाकर्मीको टोली खटिएर घाइतेको उद्धार तथा मृतकहरूको शव हेटौँडा ल्याउने कार्य गरिरहेको छ ।