मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |


‘शान्ति सुरक्षाको ‘टिम वर्क’ र पर्यटनमैत्री व्यवहारले पाल्पालाई सुरक्षित गन्तव्य बनाउँदैछौँ’

Ujyalosandeshonline 11005+ समाचार ( )
दिपेन्द्र पंजियार थारु | प्रहरी उपरीक्षक (एसपी), जिल्ला प्रहरी कार्यालय, पाल्पा
९ पौष २०८२, बुधवार

लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पा धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिन्छ। भदौ २९ गतेदेखि पाल्पा जिल्लाको कमान्ड सम्हाल्नुभएका प्रहरी उपरीक्षक (एसपी) दिपेन्द्र पंजियार थारुले छोटो समयमै शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनमा सुधारका संकेतहरू देखाउनुभएको छ। प्रस्तुत छ, पाल्पाको शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन र प्रहरीका भावी योजनाहरूका विषयमा एसपी पंजियार थारुसँग विवेक विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश :

१. पाल्पा जिल्लाको कमान्ड सम्हालेको केही समय भएको छ, समग्रमा पाल्पाको शान्ति सुरक्षाको वर्तमान अवस्थालाई यहाँले कसरी नियाल्नुभएको छ ?

मैले भदौ २९ गते जिम्मेवारी सम्हालेदेखि नै जिल्लाका सरोकारवाला निकायहरूसँग नजिकबाट समन्वय गरिरहेको छु। जिल्ला सुरक्षा समितिका पदाधिकारी, स्थानीय बासिन्दा र बुद्धिजिवीहरूसँगको निरन्तर सहकार्यले सुरक्षा व्यवस्था मजबुत बनेको छ। अहिले प्रहरी टोलीको मनोबल उच्च छ र समग्र शान्ति सुरक्षाको अवस्था सामान्य र सन्तोषजनक छ।उदाहरणका लागि, हालै श्रीमतीको हत्या गरी श्रीमान् घाइते बनाएर फरार भएका एक अपराधीलाई हामीले तत्काल नियन्त्रणमा लिन सफल भयौँ। अपराधीलाई कानुनी दायरामा ल्याउन सक्नुले जनतामा कानुनी शासनको अनुभूति गराएको छ, जसबाट म सन्तुष्ट छु।

२. लुम्बिनी प्रदेशको ऐतिहासिक र पर्यटकीय जिल्ला पाल्पामा काम गर्दाका मुख्य चुनौती र अवसरहरू के–के देख्नुभयो ?

पाल्पा आफैँमा एक महत्त्वपूर्ण पर्यटकीय र धार्मिक नगरी हो। यहाँको मुख्य अवसर भनेको पर्यटन नै हो। यसर्थ, हामीले ‘पर्यटक र सेवाग्राहीसँग विनम्र व्यवहार’ भन्ने नीति लिएका छौँ। मैले मातहतका सबै कर्मचारीलाई बाहिरबाट आउने पर्यटकलाई बाटो देखाउनेदेखि उनीहरूका समस्या तत्काल समाधान गर्न निर्देशन दिएको छु। प्रहरीको यो व्यवहारले पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पारेको छ र व्यवसायीहरूबाट पनि राम्रो प्रतिक्रिया आइरहेको छ। प्रहरी सुरक्षामा मात्र होइन, पर्यटन प्रवर्द्धनमा पनि सहयोगी बनिरहेको छ।

३. यहाँको आगमनपछि जिल्लामा शान्ति सुरक्षामा सुधार आएको स्थानीयको अनुभव छ । यसलाई कायम राख्न यहाँले कस्ता रणनीतिहरू अपनाउनुभएको छ ?

शान्ति सुरक्षामा आएको सुधार मेरो एक्लो प्रयासले मात्र सम्भव भएको होइन। यो एउटा सामूहिक कार्य (Team Work) हो। माथिल्लो निकायको निर्देशन, सुरक्षा समिति, व्यवसायी, भद्रभलाद्मी र मेरा सहकर्मी प्रहरी कर्मचारीहरूको सामूहिक सक्रियताले यो नतिजा आएको हो।

अर्को महत्त्वपूर्ण पाटो ट्राफिक व्यवस्थापन हो। पाल्पा बजारका सडक साँघुरा छन्। यसको व्यवस्थापनका लागि हामीले नगरपालिका र व्यवसायीसँग मिलेर नयाँ नियम लागू गरेका छौँ। दिउँसोको समयमा ठूला सवारी साधनलाई बजार प्रवेशमा रोक लगाई टुँडिखेलमा पार्किङको व्यवस्था गरिएको छ। साँझ ६ बजेपछि मात्र ठूला सवारी बजार छिर्न पाउँछन्। यसले जाम र भिडभाड कम गर्न मद्दत गरेको छ।

४. स्थानीय नागरिकहरूसँगको प्रत्यक्ष भेटघाट र जनचेतनामूलक कार्यक्रमहरूलाई यहाँले निकै प्राथमिकता दिनुभएको छ, यसले अपराध नियन्त्रणमा कस्तो भूमिका खेलिरहेको छ ?

मैले अघि पनि भनेँ, सुरक्षा एक्लैले दिने कुरा होइन। जनतासँगको सामीप्यताले नै सूचना संयन्त्र बलियो हुन्छ। हामीले ‘प्रहरी–समुदाय साझेदारी’ कार्यक्रम अन्तर्गत नागरिकसँग प्रत्यक्ष संवाद बढाएका छौँ। यसले गर्दा अपराधका सूचना समयमै प्रहरीसम्म आइपुग्छन्। हामीले गरेका सुधारका कामहरूमा नागरिकको साथ र समर्थन प्राप्त भएको छ, जसले मलाई र मेरो टिमलाई थप काम गर्न हौसला मिलेको छ।

५. पाल्पामा टिपरहरूको चाप अत्यधिक छ, जसका कारण दुर्घटनाको जोखिम पनि बढेको देखिन्छ । टिपर व्यवस्थापन र सडक सुरक्षाका लागि प्रहरीले के–कस्ता कदम चालिरहेको छ ?

पाल्पामा सिमेन्ट उद्योगका लागि चुनढुङ्गा खानीहरू धेरै भएकाले टिपरको चाप उच्च हुनु स्वाभाविक हो। मुख्य समस्या ‘ओभरलोड’ (भारवहन क्षमताभन्दा बढी बोक्ने) को थियो। जरिवाना तिर्दै गल्ती दोहोर्‍याउने प्रवृत्ति देखिएपछि हामीले रणनीति परिवर्तन गर्‍यौँ। अब प्रहरी टोली सिधै खानीस्थलमै पुगेर खानी प्रमुखहरूसँग समन्वय गरी क्षमता अनुसार मात्र सामग्री लोड गर्न कडाइ गरेको छ। टिपरको ढाला बराबर वा तोकिएको तौलभन्दा बढी बोक्न नदिने गरी हामीले दैनिक अनुगमन गरिरहेका छौँ। यसले जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याएको छ।

६. सिद्धार्थ राजमार्गको ‘सिद्धबाबा’ खण्ड निकै जोखिमपूर्ण मानिन्छ । यसबारे प्रहरीको तयारी कस्तो छ ?

सिद्धबाबा खण्ड अत्यन्त संवेदनशील छ। विशेष गरी वर्षायाममा पानी पर्नासाथ पहिरो र ढुङ्गा खस्ने जोखिम हुन्छ। त्यसैले वर्षाको समयमा यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै पानी नरोकिउन्जेल सवारी आवागमन रोक्ने र सडक क्लियर भएपछि मात्र छोड्ने गरेका थियौँ। अहिले हिउँदको समय भएकाले जोखिम केही कम छ, तर हामी सधैं सतर्क अवस्थामा छौँ।

७. प्रहरी सङ्गठनभित्र तल्लो तहदेखि माथिल्लो तहसम्मको समन्वय र कर्मचारीको मनोबल बढाउन यहाँको भूमिका कस्तो रहेको छ ?

कुनै समय तल्लो तहका प्रहरी कर्मचारीको मनोबल केही खस्किएको जस्तो देखिएको थियो। जिम्मेवारी सम्हालेपछि मैले जिल्लाका ३३ वटै प्रहरी युनिटमा आफैँ पुगेर जवानदेखि अधिकृतसम्म सबैसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया गरेँ। उहाँहरूलाई राज्यको सेवामा खटिनुको महत्त्व बुझाउँदै उत्प्रेरित गर्ने प्रयास गरेँ। अहिले पाल्पामा कार्यरत सबै दर्जाका प्रहरी कर्मचारीको मनोबल उच्च छ र उहाँहरू पूर्ण उत्साहका साथ ड्युटीमा खटिनुभएको छ।

९. ‘नेपालको ताजमहल’ मानिने रानीमहाल क्षेत्रको सुरक्षा र पर्यटकलाई सहज वातावरण मिलाउन प्रहरीले के गर्दैछ ?

रानीमहलमा पर्यटकको चाप बढेसँगै हामीले त्यहाँको ‘प्रहरी बिट’ लाई पर्यटकीय प्रहरीकै शैलीमा परिचालन गरेका छौँ। रानीमहल जाने बाटो साँघुरो र भिरालो भएकाले विगतमा दुर्घटना हुने गरेका थिए। अहिले हाम्रो टोलीले सडकमै सवारी रोकेर चालकलाई बाटोको अवस्थाबारे जानकारी गराउने र सचेत गराउने काम गरिरहेको छ। खुशीको कुरा, हाम्रो यो सक्रियतापछि रानीमहल सडक खण्डमा दुर्घटना शून्यमा झरेको छ।

१०. लागुऔषध, घरेलु हिंसा र साइबर अपराध जस्ता चुनौतीहरूलाई सम्बोधन गर्न कस्ता अभियानहरू चलिरहेका छन् ?

यी सामाजिक अपराध न्यूनीकरणका लागि हामीले विद्यालय र समुदाय स्तरमा जनचेतना अभियान चलाएका छौँ। निस्दीको मित्याल जस्ता दुर्गम ठाउँमा पुगेर नागरिक सुनुवाइ गरेका छौँ। बालविवाह विरुद्ध विद्यालयहरूमा विशेष कक्षा सञ्चालन भइरहेका छन्। म आम नागरिकलाई अपिल गर्न चाहन्छु– प्रहरी एक्लैले अपराध नियन्त्रण गर्न सक्दैन। कतै कुनै आपराधिक गतिविधि भएको वा हुन लागेको शंका लागेमा तुरुन्त १०० नम्बरमा फोन गरेर सूचना दिनुहोस्। तपाईँहरूको सहयोगले नै समाज सुरक्षित रहन सक्छ।

१२. अन्त्यमा, पाल्पावासीलाई के भन्न चाहनुहुन्छ ?

म र मेरो सम्पूर्ण टिम पाल्पालाई सुरक्षित र भयमुक्त समाज बनाउन प्रतिबद्ध छौँ। अहिलेसम्म भएका सुधारका कामहरूलाई निरन्तरता दिँदै अझ परिष्कृत ढंगले अगाडि बढ्नेछौँ। कानुनी राज्यको प्रत्याभूति दिलाउन हामी सदैव तत्पर छौँ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार