काठमाडौँ । कर्णाली करिडोरअन्तर्गत उत्तर खण्डको हिल्सा–सिमिकोट सडक योजनाको ३९ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गर्न ठेक्का सम्झौता सम्पन्न भएको छ। केन्द्र सरकारको बजेटबाट हालसम्म एक मिटर पनि कालोपत्रे सडक नपुगेको हुम्लामा सडक पूर्वाधार विकासलाई गति दिने लक्ष्यसहित बुधबार उक्त सम्झौता गरिएको मन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ।
मन्त्री लम्सालका अनुसार खार्पुनाथदेखि खरिखेतसम्म १८ दशमलव दुई किलोमिटर र खरिखेतदेखि सलिसल्लासम्म २० दशमलव आठ किलोमिटर गरी कुल ३९ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने गरी सम्झौता भएको हो। गत कात्तिक १७ गते ठेक्का स्वीकृत गर्ने आशयको सूचना जारी गरिएकोमा बुधबार औपचारिक रूपमा सम्झौता सम्पन्न भएको उहाँले उल्लेख गर्नुभएको छ।
करिब दुई अर्ब रुपैयाँ लागत अनुमान गरिएको उक्त सडक खण्डको निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ। हुम्लाका अधिकांश बस्ती नदी करिडोर आसपासमा रहेकाले यस सडकको स्तरोन्नति तथा कालोपत्रे कार्य सम्पन्न भएपछि जिल्लाको समग्र सडक सञ्जाल र यातायात पहुँचमा आमूल परिवर्तन आउने विश्वास सहित बजेट विनियोजन गरिएको मन्त्री लम्सालले बताउनुभएको छ।