भैरहवा । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेता बालकृष्ण खाँणले न्याय पाउनेमा आफु आशावादी रहेको बताएका छन् ।
मंगलबार रुपन्देहीको भैरहवामा नेपाली कांग्रेस रुपन्देही कार्यसमितिको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले खाँणले न्याय पाउनेमा आफु आशावादी रहेको बताए । भैरहवा समेत पर्ने रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिनुभएका कांग्रेस नेता बालकृष्ण खाँणलाई फसाईएको आरोप कार्यकर्ताहरुले लगाएका थिए ।
“बालकृष्ण खाँण यहाको नेता हो, तपाईहरुले चुनेर पठाएको प्रतिनिधि पनि हो त्यसकारण तपाईहरुलाई चिन्ता लाग्नु स्वाभाविक कुरा हो ।” देउवाले भने “तर मलाई बिश्वास छ उहाले न्याय पाउनु हुनेछ ।”
अदालतमा बिचाराधिन रहेको कारण बोल्ने नहुने बताउदै देउवाले तर पनि आफुलाई खाँणले न्याय पाउने जिकिर गरे ।
देउवाले अन्र्तराष्ट्रिय बिमानस्थललाई आवश्यक पर्ने पूर्वाधारहरु नभएको कारण बिमानस्थल सञ्चालनमा आउन नसकेको बताए । “अरुलाई दोष दिएर के गर्ने यहा चाहिने कुराहरु नै छैन, ईमिग्रेशन छैन अफिसहरु छदै छैन,” देउवाले भने “काठमाण्डौंमा गएर त्यहाका सम्बन्धित संग कुरा गर्ने बिश्वास दिलाउन चाहान्छु ।”
सहमहामन्त्री किशोरसिंह राठौरले रुपन्देहीमा काँग्रेस बलियो शक्ति भए पनि कार्यकर्ताहरुमा कुरा सुन्नेसम्मको फुर्सद नहुँदा पार्टी निर्माणमा ध्यान नदिँदा कमजोर हुँदै गएको जनाए । उनले अर्कालाई दोष दिएर पार्टी नब्बने बताए । वडादेखि केन्द्रसम्म पार्टी पहिलो भएर पनि जनतालाई डेलिभरी दिन नसक्दा कमजोर हुँदै गएको जनाए । सबै हिसाबले काँग्रेस मुलुकको हीत गर्ने र इतिहास भएको पार्टी भएको उल्लेख गर्दै सहमहामन्त्री राठौरले एकताबद्ध भएर लागे अझै बलियो बन्ने दावी गरे ।
केन्द्रीय सदस्य एवं सांसद डा.चन्द्र भण्डारीले काँग्रेसमा अन्तर्गघात बढिरहेको र यसले पार्टीलाई कमजोर बनाएको बताए । उनले ३६५ दिननै पार्टीको झण्डा बोक्नेले चुनावमा अर्कैलाई भोट हाल्ने गरेको जनाउँदै त्यस्ता नेताकार्यकर्ता पार्टीलाई आवश्यक नरहेको जनाए । उनले काँग्रेसभित्र गुटगत राजनीति चलिरहेको र यसलाई पार्टी घात घरिरहेको बताए । पार्टीभित्रको गुटले काँग्रेसको मर्म बुझ्न, जनताको हीत सोच्न, साथीलाई चिन्न र सम्बन्धलाई बचाउन नसकेको भन्दै यसलाई अन्त्य गर्नुपर्नेमा नेता भण्डारीले जोड दिए ।
काँग्रेस नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकार अधिकारबिहीन भएको भन्दै गुनासो पोखे । उनले संविधानको मर्मअनुसार अधिकार नदिइँदा प्रदेश सरकार ‘पंगु’ बनेको जनाए । साँच्चिकै संघीयता बलियो बनाउने हो भने प्रदेशलाई अधिकार सम्पन्न गराउनु पर्ने उनको जोड छ ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु दिपक गिरी, अब्दुल रज्जाक, भरत कुमार शाह, देवेन्द्र सिंह कंडेल, लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्ली बहादुर चौधरी लगायतले बोलेका थिए ।