भैरहवा । नागरिक उन्मुक्ति पार्टी नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीबीचको तीन दलीय गठबन्धनले आगामी निर्वाचनलाई लक्षित गर्दै रुपन्देही जिल्लामा ९ सदस्यीय निर्वाचन परिचालन कार्यदल गठन गरेको छ । बुधबार नागरिक उन्मुक्ति पार्टी नेपाल, रुपन्देहीका जिल्ला अध्यक्ष बिजयबहादुर सिंह चौधरीको अध्यक्षता तथा पार्टीका महासचिव डा. उमाशंकर प्रसाद चौधरी लगायत तीनवटै दलका जिल्ला अध्यक्ष एवं नेताहरूको उपस्थितिमा बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
नागरिक उन्मुक्ति पार्टी नेपालका महासचिव डा. चौधरीले फागुन २१ गते हुने निर्वाचनमा तीन दलीय गठबन्धनको गतिविधिलाई सरलीकरण, सहजीकरण र व्यापक प्रचारप्रसार गर्नका लागि कार्यदलको गठन गरिएको जानकारी दिए । पहिचान, सुशासन, संघीयता र समावेशिताजस्ता विषयमा तीनै दलको चुनावी एजेन्डा समान रहेकाले गठबन्धन गरिएको प्रष्ट पार्दै उनले समतामूलक समाज निर्माण र पहिचानसहितको संघीयताको पक्षमा गठबन्धनको अडान स्पष्ट रहेको बताए । साथै, वर्तमान निर्वाचन प्रणाली ज्यादै महँगो हुँदै गएकाले पूर्ण समानुपातिक निर्वाचन प्रणालीको आवश्यकता बढ्दै गएको र संघीयताको भावना अनुरुप अधिकारहरु बाँडफाँड हुनुपर्नेमा उनले जोड दिए ।
गठित कार्यदलको संयोजकमा नागरिक उन्मुक्ति पार्टी नेपाल, रुपन्देहीका जिल्ला अध्यक्ष बिजय बहादुर सिंह चौधरी चयन भएका छन् । कार्यदलका सदस्यहरूमा राष्ट्रिय मुक्ति पार्टी नेपाल रुपन्देहीका अध्यक्ष मुकेश यादव, जनता समाजवादी पार्टीका रामकेश धवल, सुनिल पाठक र रामजन अलि रहेका छन् । त्यस्तै, राष्ट्रिय मुक्ति पार्टीका दिनेश मिश्र र जोगेन्द्र यादव तथा नागरिक उन्मुक्ति पार्टीका कमाल हसान खाँन र श्याम बहादुर चौधरी पनि सदस्यमा रहेका छन् ।
तीन दलीय उक्त गठबन्धनले पहिचान, सुशासन, संघीयता, समावेशिता र समुदायमा आधारित समाजवाद स्थापनाका लागि तीन दलले गर्दै आएको संघर्षको सन्दर्भमा आउँदो चुनावलाई एउटा संघर्षको कडीको रुपमा लिने निर्णय समेत गरेको छ ।जनता समाजवादी पार्टी रुपन्देहीका इन्चार्ज मोहम्मद अलीले कार्यदलले बुधबारदेखि नै फिल्डमा गएर काम थाल्ने बताउँदै हिजोसम्म अलग–अलग प्लेटफर्मबाट चुनाव लडेका पहिचानवादी शक्तिहरू अब एक ढिक्का भएर एउटै चुनाव चिन्हबाट निर्वाचन लड्ने बताए ।
त्यस्तै, राष्ट्रिय मुक्ति पार्टीका दिनेश मिश्रले ठूला दलहरू पटक–पटक सत्तामा गएर पनि शोषित पीडित जनताको पक्षमा केही नगरेको आरोप लगाउँदै आफूहरू त्यस्ता जनताको पक्षमा काम गर्ने सन्देश लिएर जनतामाझ जाने उल्लेख गरे ।नागरिक उन्मुक्ति पार्टी नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष एवं कार्यदल संयोजक बिजय बहादुर सिंह चौधरीले तीन दलीय गठबन्धनमा समानुपातिक उम्मेदवारका लागि पेस गरिएको १ सय १० जना उम्मेदवारका बारेमा कुनै विवाद नआएको र गठबन्धनमा कोही पनि विवादित व्यक्ति नरहेको दाबी गरे ।