डण्डा खोलामा फोहोर फाल्न सर्वोच्चको रोक, वैकल्पिक स्थान खोज्न आदेश

Ujyalosandeshonline 11015+ समाचार ( )
७ वैशाख २०८३, सोमबार

भैरहवा । सर्वोच्च अदालतले रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित डण्डा खोला क्षेत्रमा रहेको डम्पिङ साइटमा फोहोर फाल्न रोक लगाएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले शुक्रबार एक आदेश जारी गर्दै उक्त क्षेत्रमा फोहोर विसर्जन नगर्न र साइट सञ्चालन नगर्न अन्तरिम आदेश दिएको हो ।

डण्डा खोला किनारमा अनियन्त्रित रूपमा फोहोर फाल्दा त्यसले वातावरणमा गम्भीर असर पारेको, दुर्गन्ध र प्रदूषण फैलिएको भन्दै अधिवक्ता विवेक बख्रेल र कानुनकी छात्रा अन्जली सिलवालले गत चैत १६ गते सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालयहरू र सिद्धार्थनगर नगरपालिकालाई विपक्षी बनाएर रिट दर्ता गराएका थिए ।

यसअघि रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । त्यसपछि दुवै पक्षबीच भएको छलफलका आधारमा अदालतले मुद्दाको अन्तिम किनारा नलागुन्जेलसम्मका लागि फोहोर फाल्ने कार्य तत्काल रोक्न आदेश दिएको हो । निवेदकहरूले वैकल्पिक स्थानको पहिचान नहुँदासम्म फोहोर व्यवस्थापनलाई व्यवस्थित गर्न र प्रदूषण नियन्त्रणका प्रभावकारी कदम चाल्न माग गरेका थिए ।

रिट निवेदनमा डम्पिङ साइटका कारण स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर जोखिम निम्तिएको र सो क्षेत्र भारतबाट गौतमबुद्धको जन्मस्थल लुम्बिनी प्रवेश गर्ने मुख्य पर्यटकीय मार्गमै पर्ने भएकाले आगन्तुक पर्यटकहरूमा समेत नकारात्मक असर परेको उल्लेख गरिएको थियो । लुम्बिनीको प्रवेशद्वारमै रहेको फोहोरको थुप्रोले गर्दा पर्यटकीय छबिमा आँच पुगेको भन्दै तत्काल समाधान खोज्न माग गरिएको थियो । सर्वोच्चको यो आदेशसँगै अब सिद्धार्थनगर नगरपालिकाले फोहोर व्यवस्थापनका लागि नयाँ वैकल्पिक स्थान खोज्नुपर्ने भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार