बाजुरा । कर्णाली करिडोर अन्तर्गत सुर्खेत–कालिकोट–बाजुरा–हुम्ला सडक खण्डको बाजुरास्थित भुकाखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। जगन्नाथ गाउँपालिका–५ भुकाखोलामा आज दिउँसो सडक माथिबाट खसेको पहिरोसँगैको ढुङ्गाले लागेर सुर्खेतबाट हुम्लातर्फ जाँदै गरेको भे १ ख २८३१ नम्बरको बसको अगाडिको भागमा पूर्ण रूपमा क्षति पुगेको छ।
चालकसहित सात जना सवार उक्त बसमा रहेका सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ। अवरुद्ध सडक सञ्चालनका लागि प्रहरी चौकी जुड्डीबाट प्रहरी टोली खटिएर सडक विभागको डोजर मार्फत पहिरो हटाउने काम भइरहेको छ।निरन्तरको वर्षाका कारण माथिबाट पहिरो खसिरहेकाले सडक सञ्चालन गर्न कठिनाइ भइरहेको र उक्त क्षेत्र जोखिमपूर्ण रहेकाले चालक तथा यात्रुहरूलाई सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय बाजुराले अनुरोध गरेको छ।