चितवन । चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले चितवन भ्रमणका लागि सबैलाई हार्दिक आग्रह गर्नुभएको छ। उहाँले चितवनमा पर्यटकहरूलाई स्वागत गर्न आफूहरू आतुर रहेको बताउनुभयो ।
क्षेत्रीय होटल संघ नेपाल चितवनले सौराहामा आयोजना गरेको लुम्बिनी प्रेस क्लब, रुपन्देही र पर्यटन व्यवसायीबीचको अन्तरक्रिया कार्यक्रमपश्चात पत्रकारहरूसँग कुराकानी गर्दै प्रजिअ अर्यालले यस्तो बताउनुभएको हो। "म देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण महानुभावहरूलाई छिटोभन्दा छिटो योजना बनाएर चितवन घुम्न आउनका लागि आग्रह र अनुरोध गर्दछु," उहाँले भन्नुभयो, "हामी तपाईंलाई स्वागत गर्न आतुर छौं।"
प्रजिअ अर्यालले चितवन पर्यटकीय हिसाबले महत्वपूर्ण जिल्ला भएको कुरा सबैमा जगजाहेर नै रहेको बताउनुभयो। हालैका दिनमा देशका विभिन्न स्थानमा घटेका घटनाक्रमका कारण चितवनमा असुरक्षा लगायतका विषयमा कतै शंका छ भने, उहाँले पत्रकारहरूमार्फत् सम्पूर्ण सरोकारवालाहरूलाई यहाँ शान्ति सुरक्षाको कुनै पनि समस्या नरहेको जानकारी गराउनुभयो । प्रजिअ अर्यालले जिल्लामा शान्ति सुरक्षाको पूर्ण प्रबन्ध गरिएको र पर्यटकहरूका लागि सुरक्षित वातावरण रहेको सुनिश्चित गर्नुभयो।