भैरहवा । २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन तुलनात्मक रूपमा बढी शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको छ।
गत निर्वाचनका क्रममा देशका विभिन्न जिल्लामा राजनीतिक दलका कार्यकर्ता तथा समर्थकबीच झडपका घटना भएका थिए। ती घटनामा बाजुरा र कालिकोटमा गरी चार जनाको मृत्यु हुनुका साथै विभिन्न जिल्लामा २३ जना घाइते भएका थिए। ताप्लेजुङ, इलाम, भोजपुर, उदयपुर, सिरहा, कास्की, नवलपरासी पश्चिम, दाङ, दैलेख, मुगु, दार्चुला लगायत जिल्लामा विस्फोटक पदार्थ राखेर निर्वाचन प्रक्रिया अवरुद्ध पार्ने प्रयास भएका थिए।
त्यसैगरी ताप्लेजुङ, ओखलढुंगा, सप्तरी, चितवन, धादिङ, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, कास्की, तनहुँ, म्याग्दी, गुल्मी, अर्घाखाँची, रुकुम पश्चिम, सुर्खेत, दैलेख, जाजरकोट, हुम्ला, कालिकोट, जुम्ला, डोल्पा, कञ्चनपुर, डडेल्धुरा, दार्चुला, बझाङ, कैलाली र ललितपुरमा झडपका घटना भएका थिए भने उदयपुर, दोलखा र सिन्धुपाल्चोकमा बुथ कब्जाका घटना समेत भएका थिए। ती घटनाका कारण देशभर ६२ मतदान स्थलमा निर्वाचन कार्य प्रभावित भएको थियो।
यसपटक भने सुरक्षा व्यवस्था सुदृढ र प्रभावकारी बनाइएकाले निर्वाचन समग्र रूपमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको सुरक्षा निकायले जनाएको छ। मतदान केन्द्रहरूमा सुरक्षाकर्मीको प्रभावकारी परिचालन तथा सक्रिय निगरानीका कारण कुनै ठूलो झडप वा हिंसात्मक घटना हुन नपाएको जनाइएको छ। कतिपय स्थानमा सामान्य विवाद उत्पन्न भए पनि सुरक्षामा खटिएका प्रहरीले तत्काल स्थिति नियन्त्रणमा लिएपछि मतदान प्रक्रिया अवरोधरहित रूपमा सम्पन्न भएको थियो।
नेपाल प्रहरीका अनुसार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको नेतृत्वमा सुरक्षा व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइएकाले निर्वाचन सुरक्षामा प्रभावकारिता देखिएको हो। सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई परिचालन गरी संवेदनशील जिल्लामा उच्च तहका अधिकृतबाट अनुगमन तथा सुपरीवेक्षण गरिएको थियो।
मानवीय क्षतिको दृष्टिले पनि २०७९ को तुलनामा २०८२ को निर्वाचन शान्तिपूर्ण रहेको सुरक्षा निकायको निष्कर्ष छ। अघिल्लो निर्वाचनमा मृत्यु र घाइतेका घटना भएका थिए भने यसपटक त्यस्ता अप्रिय घटना दोहोरिन पाएनन्।
यसैगरी मतदान स्थगन र पुनः मतदानको अवस्था पनि यस निर्वाचनमा देखिएन। कतिपय स्थानमा प्राविधिक समस्या वा स्थानीय विवादका कारण क्षणिक अवरोध भए पनि देशभर अधिकांश स्थानमा निर्धारित समयमै मतदान सम्पन्न भएको थियो।
सुरक्षा निकायबीचको प्रभावकारी समन्वय, मतदाता तथा राजनीतिक दलको बढ्दो सचेतना र निर्वाचन व्यवस्थापनमा गरिएको सुधारका कारण यसपटकको निर्वाचन तुलनात्मक रूपमा व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।