देउडामा गुञ्जियो ‘आत्महत्या होइन, जीवन रोजौँ’ भन्ने सन्देश

Ujyalosandeshonline 12304+ समाचार ( )
२८ भाद्र २०८३, आइतबार

भूमिराज पिठातोली/रासस

रायल (बझाङ)  । ‘पापी मन बुझाउनाखी आफैँ जान्दो रैछ,

सबैभन्दा ठूलो बिराम चिन्ता मान्नु रैछ ।’

देउडाको मौलिक भाकामा यी हरफ गुञ्जिँदा रायलको वातावरण केहीबेर स्तब्ध भयो । यी शब्द केबल गीतका हरफ थिएनन्, किशोर मनभित्र गुम्सिएका पीडा र चिन्ताका अभिव्यक्ति थिए । देउडाको लयमा मनोरञ्जन थियो, तर शब्दमा जीवनको गहिरो कथा थियो, तनाव थियो, निराशा थियो, सामाजिक दबाब थियो र सबैभन्दा महत्वपूर्ण, जीवन रोज्नुपर्छ भन्ने सन्देश थियो ।

बझाङको केदारस्यूँ गाउँपालिका–१ रायलस्थित गर्जेपानी माध्यमिक विद्यालयमा शनिबार आयोजित अन्तरमाध्यमिक विद्यालयस्तरीय देउडा गायन प्रतियोगिताले स्थानीय संस्कृति र मानसिक स्वास्थ्यसम्बन्धी चेतनालाई एउटै मञ्चमा उभ्याएको थियो । प्रतियोगितामा पाँच विद्यालय सहभागी थिए । झोताको भैरव माध्यमिक विद्यालय, भाडिकोटको नमादेव माध्यमिक विद्यालय, रातापानीको बेताल माध्यमिक विद्यालय र सैन्यूको जगन्नाथ माध्यमिक विद्यालयका विद्यार्थीले प्रस्तुत गरेका देउडाले किशोर मनका समस्या र मानसिक स्वास्थ्यको विषयलाई मौलिक भाकामार्फत उजागर गरेका थिए ।

‘घर झाउँ कामको चिन्ता, स्कुल पढाइको,

बालो उमेर उर्ली आयो, मैदान भै लडाइको ।’

यी हरफले किशोरावस्थामा बालबालिकाले भोगिरहेको दबाबको चित्र को¥यो । घरमा कामको बोझदेखि विद्यालयको पढाइसम्म, परिवारको अपेक्षादेखि सामाजिक दबाबसम्मका विषय देउडाका शब्दमा आएका थिए । खेल्ने, रमाउने र भविष्यका सपना बुन्ने उमेरमै कतिपय बालबालिका मानसिक तनावको भारी बोकेर हिँड्न बाध्य भएको यथार्थ विद्यार्थीले गीतमार्फत सुनाएका थिए ।

स्थानीय भाका र मौलिक लयमा प्रस्तुत गरिएका गीतका शब्दले मनोरञ्जनका लागि उपस्थित अभिभावकलाई सोच्न बाध्य बनाए । पुस्तौँदेखि मनोरञ्जन, सामाजिक संवाद र आफ्ना सुखदुःख व्यक्त गर्ने माध्यमका रूपमा रहेको देउडा यसपटक भने मानसिक स्वास्थ्यको आवाज बनेर गुञ्जियो । प्रतियोगितामा विद्यार्थीले मानसिक तनाव, निराशा, आत्मविश्वासको कमी, पारिवारिक तथा सामाजिक दबाब र आत्महत्याको जोखिमजस्ता संवेदनशील विषयलाई सिर्जनात्मक ढङ्गले उठाएका थिए ।

‘चेतनाको कमीले हो, अकालमै म¥या,

अमूल्य माइसको चोला फाल्पासो जन¥या ।’

यी शब्दले मानव जीवनको मूल्य सम्झाउँदै कठिन परिस्थितिमा पनि जीवन त्याग्ने होइन, त्यसको सामना गर्ने सन्देश दिएको थियो । मानसिक समस्या आउनु कमजोरी होइन र समस्याको समाधान आत्महत्या होइन भन्ने भाव विद्यार्थीका प्रस्तुतिमा स्पष्ट देखिन्थ्यो ।

आत्महत्याका घटना न्यूनीकरण गर्न विद्यालय तहबाटै मानसिक स्वास्थ्यसम्बन्धी चेतना फैलाउनुपर्ने आवश्यकता देखिएपछि चेतनामूलक देउडा गीता प्रतियोगिता आयोजना गरिएको गर्जेपानी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर मल्लले बताउनुभयो । किशोरावस्था शारीरिक, मानसिक र भावनात्मक परिवर्तन तीव्र हुने संवेदनशील समय भएकाले यस उमेरका बालबालिकाका भावना र व्यवहारलाई गम्भीरतापूर्वक बुझ्नुपर्ने उहाँले बताउनुभयो ।

किशोरावस्थामा हुने मानसिक समस्यालाई ध्यानमा राखेर नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थले कार्यक्रमका लागि आर्थिक सहयोग गरेको थियो । गर्जेपानी विद्यालयको आयोजनामा भएको प्रतियोगितामा गाउँपालिकाका स्वास्थ्य संयोजक अमरबहादुर विष्टले पछिल्ला वर्षमा आत्महत्याका घटना बढिरहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । उहाँले आर्थिक वर्ष २०८२÷८३ मा नेपालमा सात हजार १३२ जनाले आत्महत्या गरेका जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा दैनिक आत्महत्या गर्नेको सङ्ख्या बढिरहेको छ । यो तथ्याङ्क घटाउन परिवार, विद्यालय, समुदाय र राज्य सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।” उहाँले आत्महत्या सामान्य विषय नसम्झिन आग्रह गर्नुभयो । “हाम्रोतिर कायरले आत्महत्या गर्छ भन्ने भाष्य छ । तर, आत्महत्याको सोचसम्म पुग्नु सम्बन्धित व्यक्तिका लागि निकै जटिल अवस्था हो । त्यो बुझ्नु जरूरी छ ।”

स्वास्थ्य संयोजक विष्टका अनुसार आत्महत्या रोकथाम स्वास्थ्य क्षेत्रको मात्रै जिम्मेवारी होइन । परिवारमा आफ्ना कुरा खुलेर भन्नसक्ने वातावरण, विद्यालयमा विद्यार्थीका समस्या सुन्ने संस्कार र समुदायमा मानसिक स्वास्थ्यबारे संवाद आवश्यक छ । समयमै समस्या पहिचान गरेर सहयोग र उपचारको पहुँचमा पु¥याउनसके धेरै जोखिम रोक्न सकिने उहाँले बताउनुभयो ।

निरन्तर अभियानमा मल्ल

गर्जेपानी माध्यमिक विद्यालयका शिक्षक पूर्णबहादुर मल्ल डेढ वर्षयता मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने अभियानमा जुट्नुभएको छ । छोरीले आत्महत्या गरेपछि विक्षिप्त बन्नुभएका मल्लले मनोपरामर्शदाताबाट तालिम पाएपछि गाउँगाउँमा गएर सचेतनाको सन्देश फैलाइरहनुभएको छ । गर्जेपानी माविमा हरेक हप्ता मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम भइरहन्छन् । देउडा गायन प्रतियोगिता पनि उहाँकै अग्रसरतामा भएको थियो ।

गाउँगाउँमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउँदै आउनुभएका मल्लले किशोरकिशोरीका व्यवहारमा आउने परिवर्तनलाई सामान्य भनेर बेवास्ता गर्न नहुने बताउनुभयो । “किशोर–किशोरीका समस्या सुन्ने, भावना बुझ्ने र आवश्यक पर्दा सहयोग तथा परामर्श उपलब्ध गराउने वातावरण विद्यालय र परिवारले बनाउनुपर्छ”, उहाँले भन्नुभयो । विद्यार्थी तथा शिक्षकलाई मानसिक स्वास्थ्यका विषयमा जानकारी दिने मल्लको अभियानले विद्यालय तहमा बहसको विषय बनाउन सहयोग पु¥याएको सोही विद्यालयका आमा समूहका अध्यक्ष देवकी मल्लले बताउनुभयो ।

प्रतियोगितामा गुञ्जिएको अर्को हरफ थियो

‘चित्त दुखाई जन बस्या, हृदय रूनो छ,

मानसिक रोगको पन, उपचार हुनो छ ।’

यी हरफले मानसिक समस्या आएमा जीवन समाप्त गर्ने होइन, उपचार खोज्नुपर्ने सन्देश बोकेको छ । चित्त दुखेका बेला हतारमा गलत निर्णय लिनुभन्दा परिवार, शिक्षक, स्वास्थ्यकर्मी वा सम्बन्धित व्यक्तिसँग आफ्ना कुरा राखेर सहयोग लिनुपर्ने भाव गीतमा प्रस्तुत गरिएको थियो ।

“गर्जेपानीमा भएको यो प्रतियोगिता एउटा सांस्कृतिक कार्यक्रम मात्र रहेन”, आमा समूहकी अध्यक्ष मल्लले भन्नुभयो, “यसले देउडालाई मानसिक स्वास्थ्यसम्बन्धी संवादको माध्यम बनायो । विद्यार्थीले आफ्नै भाकामा आफ्नै मनका कुरा सुनाए । शिक्षक र अभिभावकलाई आफ्ना बालबालिकाको मनभित्र पनि एउटा संसार हुन्छ भन्ने सम्झाए ।” किशोरकिशोरीको मनमा आउने तनाव, निराशा, असफलता तथा पारिवारिक र सामाजिक दबाबलाई समयमै बुझ्न सके धेरै जोखिम रोक्न सकिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार