मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

रासस 695+ समाचार ( )
२८ श्रावण २०८३, बिहीबार

वालिङ (स्याङ्जा) । यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार हुन नसक्दा ओझेलमा पर्दै गएको छ । स्याङ्जाको गल्याङ नगरपालिका-१० छहरामा अवस्थित सिद्ध गुफाको धार्मिक एवं ऐतिहासिक महत्व हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो ।

धेरै वर्ष पहिले गाईगोरु हेर्न आएका गोठालाहरूले गुफा देखेपछि सिद्धको शक्तिका रूपमा यस ठाउँलाई सिद्धको थान मानी पूजाआजा गर्न थालिएको गल्याङ-१० सिद्ध गुफा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ९० वर्षीय पिताम्बर खनालले बताउनुभयो ।

“गाईगोरु चराउन आएका गोठालाले पहाडको भित्रपट्टि रहेको गुफा पत्ता लगाएका थिए । उक्त गुफाभित्र अहिले पनि गाईका थुन, शङ्ख, मादल, मौलोलगायत विभिन्न आकृति स्पष्टसँग देख्न सकिन्छ”, उहाँले भन्नुभयो, “गुफाको बाहिरबाट छहरा झरिरहेको छ भने भित्रपट्टि विभिन्न आकृति छन् । यहाँ सिद्धको शक्ति रहेको धार्मिक मान्यतापश्चात् यस ठाउँमा शिव मन्दिर बनाएका छौँ ।”

सुरुमा स्थानीयले खरले छाएर सामान्य खालको मन्दिर बनाएर पूजाआजा गर्दै आएका थिए । विसं २०५६ मा स्थानीयको अगुवाइमा मन्दिरलाई व्यवस्थित बनाउनका लागि देउसीभैँलो खेलेर रकम सङ्कलन गरी हालको मन्दिर निर्माण गरिएको अध्यक्ष खनालले बताउनुभयो । “पुरानो मन्दिरलाई संरक्षण र व्यवस्थित गर्न स्थानीयले देउसीभैँलो खेलेर रकम सङ्कलन गर्यौं”, उहाँले भन्नुभयो, “टाढाटाढा गएर रकम सङ्कलन गरी मन्दिर निर्माण गरेका हौँ ।”

सिद्ध गुफा मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्व हुँदाहुँदै पनि समय अनुसार प्रचारप्रसार गर्न नसक्दा धार्मिक पर्यटकलाई मन्दिरसम्म पुर्‍याउन सकिएको छैन । मन्दिरमा विवाह, व्रतबन्ध, ग्रहशान्ति, सत्यनारायण पूजा, भजनकीर्तन हुने गरे पनि पछिल्लो समय गाउँघरमा युवापुस्ता नहुँदा पहिलाको जस्तो गतिविधि नहुने समितिका अध्यक्ष खनालले बताउनुभयो । यहाँको धार्मिक महत्वकाबारेमा बुझाउन नसक्दा पनि धार्मिक पर्यटक आउनेक्रम बढ्न नसकेको उहाँले दाबी गर्नुभयो ।

मन्दिरसम्म पुग्नका लागि रु दुई लाखको लागतमा पदमार्ग निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकार, वडा कार्यालय र स्थानीयको लागत साझेदारीमा गुफा परिसरमा पौवा निर्माण गरिएको वडाध्यक्ष मुक्तिप्रसाद खनालले जानकारी दिनुभयो । “यस ठाउँको धार्मिक महत्व हुँदाहुँदै पनि हामीले प्रचारप्रसार गर्न सकिरहेका छैनौँ”, उहाँले भन्नुभयो, “यहाँको धार्मिक महत्वका बारेमा प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य धार्मिक पर्यटक भित्र्याउन सकेमा यहाँ रोजगारी सिर्जना हुनुका साथै पर्यटकीय गतिविधि चलायमान हुनेछन् ।” 

पहाडको भिरालो परेको खोँचमा एकान्त स्थानमा उक्त गुफा अवस्थित छ । प्राकृतिक छटाले सजिएको गुफामा पुगेपछि जोकोहीको पनि मन आनन्दित हुन्छ । यसको प्रचारप्रसार गर्न सकेको खण्डमा धार्मिकसँगै पर्यटकीय दृष्टिले पनि महत्व बढेर जाने स्थानीय बताउँछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार