भैरहवा । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको वर्ष २०२५–२०२६ का नवनिर्वाचित कार्यसमितिको पदस्थापन भएको छ । भैरहवामा विशेष कार्यक्रमको आयोजना गरी क्लबको दसौं पदस्थापन समारोह गरिएको हो ।
कार्यक्रममा क्लबका नवनिर्वाचित अध्यक्ष विष्णु शर्मालाई प्रमुख अतिथि रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिष्ट्रिक्ट गर्भनर नोमिनी डा.ईश्वरीप्रसाद ढकालले रोटरीको कलर दिएर पदस्थापन गराएका थिए। कार्यक्रममा क्लबका नवनिर्वाचित अध्यक्ष शर्माले नयाँ कार्यसमितिका पदाधिकारीहरूलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।
नयाँ कार्यसमितिको सेक्रेटरी तथा प्रेसिडेन्ट इलेक्टमा बासु बड़ाल, ट्रेजररमा उपेन्द्र यादव, प्रेसिडेन्ट नोमिनीमा राम अर्याल, युवा लिडर कन्ट्याक्टमा गंगाधर भण्डारी, सर्जेन्ट एट आम्र्समा शिवशंकर जैसवाल, सचिवमा दिनेश पौडेल लगायत २० सदस्य यसअघि नै चयन भइसकेका छन् ।
यस्तै, पूर्वअध्यक्षहरूलाई पनि विभिन्न समितिको जिम्मेवारी दिइएको छ । पूर्वअध्यक्षहरुलाई समेत जिम्मेवारी दिइएकाले क्लबका आगामी गतिविधिहरू अझ सेवामुखी बन्ने निनिर्वाचित अध्यक्ष शर्माको विश्वास छ । अध्यक्ष शर्माले आफ्नो कार्यकालमा क्लबमार्फत् धेरै भन्दा धेरै सामाजिक गतिविधि गरी उत्कृष्ट बनाउँदै लैजाने जनाए । सेवाका भावले स्थापित क्लब भएकाले सधैं सामाजिक कार्यमा क्रियाशील हुने शर्माले बताए । क्लबको भावी योजनाबारे जानकारी गराउँदै सबै सदस्यलाई सहकार्यको लागि उनले आग्रह गरे ।
प्रमुख अतिथि डा.ढकालले रोटरीको सदस्यता वृद्धिमा जोड दिँदै सेवामुखी, मैत्रीपूर्ण सम्बन्ध विकासमा क्लबहरू सक्रिय हुनु आवश्यक रहेको बताए । उनले सेन्ट्रल लुम्बिनीले विगतदेखि नै सामाजिक गतिविधिलाई पहिलो प्राथमिकता राखेको जनाउँदै आगामी दिन अझै उत्कृष्ट कार्य गर्न आग्रह गरे । रोटरी मूलमन्त्रलाई आत्मसाथ गरेर अघि बढे क्लबहरु सफल हुने उनको भनाई छ ।
डिष्ट्रिक्ट पदाधिकारीहरूको तर्फबाट अजयमान श्रेष्ठ, क्लबका पूर्वअध्यक्ष तथा डिष्ट्रिक्ट आइसीएम चेयर कृष्णप्रसाद पाण्डे, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य, पूर्वडिआरआर विक्रम क्षेत्री, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष धिरज मरासिनी, रोटेरियन श्रीमतीहरूको तर्फबाट सीता भट्टराईले बोल्दै सामाजसेवा नै मूलमन्त्र भएकाले क्लबहरुले समाजका सहयोगी हातहरु भएको बताए । उनीहरुले क्लबले विगतमा गरेका कामका इतिहास स्मरणयोग्य भएको जनाउँदै आउँदा दिनमा पनि सकारात्मक र रचनात्मक कार्यहरु गर्न सुझाव दिए ।
कार्यक्रममा एसईई उत्तीर्ण ५ जना क्लबका सदस्यहरुका छोराछोरीलाई सम्मानसहित थप शैक्षिक भविष्यको कामना गरिएको थियो । यस्तै, नयाँ थप भएका ५ जना सदस्यहरुलाई क्लबका असिस्टेन्ट गभर्नर शिवप्रसाद गौडेलले शपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँ, लुम्बिनी प्रेस क्लब अध्यक्ष कमल रायमाझी, रोटरी डिष्ट्रिक्ट ३२९२ का असिस्टेण्ट गर्भनरहरू, डिष्ट्रिक्ट पदाधिकारीहरू, छिमेकी १८ वटा रोटरी क्लब का अध्यक्ष तथा पदाधिकारी, प्रायोजित रोट्रयाक्ट क्लबका अध्यक्षहरु, पूर्वअध्यक्ष, सदस्य तथा परिवारजनको सहभागिता थियो ।
पदस्थापन समारोहको संयोजन प्रेम शर्मा लोहिनीले गरेका थिए भने स्वागत मन्तव्य क्लबका युवा लिडर कन्ट्याक्ट गंगाधर भण्डारीले दिएका थिए । बासु बडालको संचालनमा भएको कार्यक्रममा कार्यक्रम संयोजक लोहिनीले धन्यवाद ज्ञापन गरेका थिए ।