रौतहट । रौतहटको कटहरिया नगरपालिकाका ११ जनाविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रिता देवी, प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियर राजेशकुमार साह, योजना शाखा प्रमुख राम नरेशप्रसाद यादव, कार्यपालिका सदस्यहरू समिश विक्रम शाह, मनोजप्रसाद जैसवाल र इन्जिनियर मो. मकसुद आलम, बौद्धिमाई उपभोक्ता समितिका अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्द्र साहविरूद्ध मुद्दा दायर भएको हो ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार गैरकानूनी लाभ तथा हानी पु¥याइ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरुविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको छ ।
उनीहरुविरुद्ध १२ लाख ५२ हजार ९ सय ४१ रुपैयाँ ९५ पैसा बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबी लिइएको अख्तियारका प्रवक्ता घिमिरेले जानकारी दिए ।
उनीहरुविरुद्ध कटहरिया नगरपालिका वडा नम्बर २ स्थित जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा आ.व. २०७८÷०७९ मा टायल्सको कामका लागि विनियोजन भएको रकम स्वीकृतिका लागि लागत अनुमानबमोजिम कार्य नगरी कमसल काम गरेको भन्ने उजुरी परेको थियो ।बौद्धिमा उपभोक्ता समिति मार्फत टायल्स ओछ्याउने काम भएको थियो । उनीहरुले फिल्डमा ७२०.८१ वर्ग मिटरमात्रै भएपनि त्यहाँ काम गरेको भन्दा ४७३.६० वर्गमिटर बढी काम गरेको कार्यसम्पन्न प्रतिवेदन तयार पारेको अख्तियारको दाबी छ ।
अनुगमन समितिबाट पनि सोही परिमाणको काम सम्पन्न भएको भनेर प्रतिवेदन दिएर भएको काम भन्दा बढी काम देखाएर १२ लाख ५२ हजार ९ सय ४१ रुपैयाँ ९५ पैसा बढी भुक्तानी लिएको अख्तियारले बताएको छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी लिइएको जनाएको छ ।