सिद्धार्थनगरमा चैत १७ देखि फोहोर वर्गीकरण अनिवार्य, नियम मिच्नेलाई ५ हजार जरिवाना

Ujyalosandeshonline 11223+ समाचार ( )
६ चैत्र २०८२, शुक्रबार

भैरहवा । सिद्धार्थनगर नगरपालिकाले भैरहवा क्षेत्रको फोहोर व्यवस्थापनलाई दिगो र प्रभावकारी बनाउन आगामी चैत १७ गतेदेखि नयाँ नियम लागू गर्ने भएको छ। नगरभित्र बढ्दै गएको फोहोरको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले अबदेखि फोहोर उत्पादन हुने स्थानमै वर्गीकरण गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको हो। यस नियमअनुसार नगरका प्रत्येक घर, पसल, होटेल, रेस्टुरेन्ट, विद्यालय तथा व्यवसायिक प्रतिष्ठानहरूले कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै संकलन गर्नुपर्नेछ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाका अनुसार नगरमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएपछि यसको दीर्घकालीन समाधानका लागि वर्गीकरणको नियम ल्याइएको हो। अबका १२ दिनपछि पूर्ण रूपमा कार्यान्वयनमा आउने यस व्यवस्थाअन्तर्गत नगरबासीले जैविक र अजैविक फोहोरलाई अलग–अलग छुट्याएर मात्र नगरपालिकाको ट्याक्टरमा बुझाउनुपर्नेछ। यदि कसैले फोहोर वर्गीकरण नगरेमा नगरपालिकाले त्यस्तो फोहोर संकलन नगर्ने नीति लिएको छ।

फोहोर व्यवस्थापनमा लापरबाही गर्ने र जथाभावी सडक पेटी वा सार्वजनिक स्थलमा फोहोर फाल्नेहरूलाई नगरपालिकाले कडा कारबाही गर्ने चेतावनी दिएको छ। नियम उल्लंघन गर्ने व्यक्ति वा संस्थालाई फोहोरको प्रकृति हेरेर न्यूनतम ५ हजार रुपैयाँदेखि माथिसम्म जरिवाना गरिने प्रमुख प्रशासकीय अधिकृत थापाले बताउनुभयो। यो नियमलाई कडाइका साथ कार्यान्वयन गर्न नगरपालिकाले नियमित अनुगमन गर्ने संयन्त्र समेत तयार पारेको छ।

लुम्बिनीको प्रवेशद्वारका रूपमा रहेको सिद्धार्थनगरलाई स्वच्छ र सुन्दर राख्न यो अभियान कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ। जथाभावी फालिने फोहोरका कारण सहर कुरुप र दुर्गन्धित बन्दै गएको जनगुनासो बढिरहेका बेला चालिएको यो कदमले नगरको सौन्दर्यकरणमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ। नगरपालिकाले यस नयाँ नियमबारे सबै नगरबासी र सरोकारवालाहरूलाई सचेत रहन र फोहोर वर्गीकरणमा सहयोग गर्न समेत आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार